आज राष्ट्रिय सभा बैठक बस्दै, बजेटमाथिको छलफल मुख्य कार्यसूची

आज राष्ट्रिय सभा बैठक बस्दै, बजेटमाथिको छलफल मुख्य कार्यसूची

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेकै अवस्थामा राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ। बैठक सङ्घीय संसद् भवनमा मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रस्ताव स्वीकृत भएपछि बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

यसका साथै, अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम छ।

विपक्षीको निरन्तर अवरोधले मंगलबारको बैठक स्थगित
यसअघि मंगलबारको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले लगातार दोस्रो दिन पनि राष्ट्रिय सभा बैठक अवरुद्ध पारेका हुन्।

मंगलबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि अध्यक्ष दाहालले आकस्मिक समयमा बोल्नका लागि चार जना सांसदहरूलाई समय दिएका थिए।

आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको भन्दै उनले सो गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिनुपर्ने वा माफी माग्नुपर्ने अडान राखेका थिए। उनीहरूको अवरोध कायमै रहेपछि मंगलबार बजेटमाथिको छलफल लगायतका महत्त्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका थिए।

के थियो प्रधानमन्त्रीको अभिव्यक्ति?
गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा विवाद कूटनीतिक माध्यमबाट हल गरिने बताएका थिए।

त्यसै क्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आन्दोलित भएका हुन्। मंगलबारको बैठकमा अध्यक्ष दाहालले संसद् सुचारु गर्न पटक–पटक आग्रह गरे पनि अवरोध नरोकिएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

आजको बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्छन् वा बजेटमाथिको छलफल अघि बढ्न दिन्छन् भन्ने चासोका साथ हेरिएको छ।

जेठ २०, २०८३ बुधबार ०८:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।