रवि लामिछानेको भारत भ्रमण : रास्वपाको कूटनीतिक 'डेब्यु' कि नयाँ दिल्लीको 'कोर्स करेक्सन'?
काठमाडौँ : राजनीतिक वृत्तमा कतिपयले यसलाई अप्रत्याशित माने, कतिपयले ढिलो या चाँडो हुने नियमित प्रक्रिया। तर, संसद्को पहिलो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने दिल्ली भ्रमणले यतिबेला नेपाल र भारत दुवैतर्फको राजनीतिक तथा कूटनीतिक वृत्तको ध्यान तानेको छ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा जेठ १८ गते दिल्ली ओर्लिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भ्रमणको दोस्रो दिन आज (मंगलबार) भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीन, भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरे।
सत्ताधारी दल रास्वपाका सभापति लामिछाने भारत भ्रमणमा रहँदा यता नेपालमा भने प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपाल-भारत सीमाबारे दिएको विवादित अभिव्यक्तिको विरोधमा सडकदेखि सदनसम्म तातिरहेको छ।
भारतले नियन्त्रणमा लिएको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा अनि कालापानीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री वालेन्द्रले नेपालले पनि भारतको जग्गा मिचेको भनेर संसदमा बोलेका थिए। त्यसको विरोधमा सडकमा मशाल जुलुस निस्किए। उनको बोली संसद्को रेकर्डबाट हटाउनु पर्ने र माफी मागेर यसबारे प्रस्टीकरण दिनुपर्ने विपक्षीको माग र अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक चल्न सकेन।
नेपालमा रास्वपाको उदयलाई कतिपय भूराजनीतिक विश्लेषकहरूले पश्चिमा शक्तिसँग जोडेर हेर्ने गरेका छन्। यस्तो पृष्ठभूमिमा, भाजपाले रास्वपालाई दिल्लीमै बोलाएर सांगठनिक र वैचारिक संवादमार्फत रास्वपाको कूटनीतिक धारबारे आफैँ सुनिश्चित हुन चाहेको देखियो। रास्वपाका लागि यो भ्रमण पार्टीको कूटनीतिक 'डेब्यु' हो भने भाजपाका लागि नेपालको नयाँ राजनीतिक मनोविज्ञान बुझ्ने 'कोर्स करेक्सन'।
अमित शाहसँगको भेटमा 'सुरक्षा चासो'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भ्रमणको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक भेट हो। त्यो निश्चित भइसकेको छैन। मंगलबार दिल्लीमा भारतीय गृहमन्त्री अमित शाहसँग रविको भेट भयो। एकल तथा सामूहिक भेटवार्तामा नेपालको आन्तरिक सुरक्षा, खुला सिमाना र राजनीतिक स्थिरताबारे छलफल भएको दाबी आएका छन्।
भेटमा गृहमन्त्री शाहले हालैको निर्वाचनमा रास्वपाले हासिल गरेको उभार र 'पपुलिस्ट' राजनीतिक सफलताको प्रशंसा गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। मोदीपछिका शक्तिशाली शाहसँगको भेटले नयाँ दिल्लीले नेपालको उदाउँदो नयाँ शक्तिसँग प्रत्यक्ष संवादको च्यानल स्थापित गर्न खोजेको प्रस्ट देखियो।
शाहको स्वागतले कांग्रेस-एमाले-माओवादी जस्ता परम्परागत शक्तिहरूसँगको सम्बन्धमा निरन्तरता दिँदै गर्दा, नेपालको नयाँ शक्तिलाई दिल्लीले उपेक्षा गर्न नचाहेको सन्देश दियो।
लामिछानेले मंगलबारै भाजपा मुख्यालयमा अध्यक्ष नितिन नवीन र विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग पनि संवाद गरे। भाजपाले विदेशी दलहरूसँग सम्बन्ध प्रगाढ बनाउन चलाएको 'नो भाजपा' (विजेपी चिनौँ) अभियानअन्तर्गत भेटघाट भएको बताइएको छ।
उनले मंगलबारै भारतीय विदेश मन्त्रीसँग पनि भेट गरेका थिए। भेटमा भएको छलफलका विषय सार्वजनिक भइसकेको छैन।
भारतीय परराष्ट्रको सन्तुलित टिप्पणी
रास्वपा टोलीको दिल्ली बसाइँकैबीच मंगलबार भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिएको अभिव्यक्ति उत्तिकै अर्थपूर्ण छ। प्रवक्ता जयसवालले रविको भारत भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीचको नियमित सम्पर्क को संज्ञा दिए। पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री वालेन्द्रले संसदमा बोलेको प्रशंग पनि उठ्यो।
प्रवक्ता जयसवालले नेपाल र भारतबीचको करिब ९८ प्रतिशत सीमांकन कार्य सम्पन्न भइसकेको बताउँदै बाँकी रहेका केही क्षेत्रमा गण्डक (नारायणी) नदीले धार परिवर्तन गर्दा समस्या देखिएको बताए। यसबाहेक, सीमांकन भइसकेका क्षेत्रहरूमा पनि दशगजा (नो-म्यान्स ल्यान्ड) को अतिक्रमण र सीमापार अनधिकृत भोगचलनका समस्याहरू रहेको र त्यसलाई दुवै देशका प्राविधिक टोलीहरूले संयुक्त रूपमा नक्सांकन मार्फत सल्टाउने काम गरिरहेको उनले बताए।
प्रधानमन्त्री वालेन्द्रले संसदमा कालापानी लिपुलेकको नेपाली भूभागबारे बेलायतसँग समेत कुराकानी भइरहेको बताएका थिए। यसबारे जयसवालले भारत र नेपालबीच सीमासम्बन्धी विषयहरू समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको र दुई देशबीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएका थिए। उनले प्रधानमन्त्री वालेन्द्रको भनाइ र त्यसमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टीकरणलाई नोट गरेको बताए।
मोदीसँगको भेटको प्रतीक्षा
भ्रमणको सबैभन्दा महत्वपूर्ण समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नै हो। तर भेट निश्चित भइसकेको छैन। भोलि (बुधवार) सम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने गरी कूटनीतिक च्यानलहरू सक्रिय भएको र समय मात्र तय हुन बाँकी रहेको दाबीहरू सार्वजनिक भएका छन्। तर भारतीय पक्ष अनि यता रविको भ्रमण र भेटबारे जानकारी गराइरहेको रास्वपाले पनि यसबारे केही सार्वजनिक गरेको छैन।
जेठ १९, २०८३ मंगलबार २२:४१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।