रास्वपा सांसद बोहोराको रिटमा प्रधानन्यायाधीशको इजलासले जारी गर्यो कारण देखाऊ आदेश
काठमाडौं : भदौ २४ को विध्वंसात्मक घटनामा भूमिका र संलग्नताबारे थप अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहोरा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ। मंगलबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आयोग समेतका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
जेनजी आन्दोलनको दोस्रो दिन बोहोरासहितमाथि आन्दोलन भड्काउने गतिविधिमा संलग्न देखिएको भन्दै उनीसहितको भूमिकाबारे थप अनुसन्धान गर्न आयोगले सिफारिस गरेको थियो। बोहोरा आयोगको सिफारिसविरुद्ध रिट बोकेर सर्वोच्च गएका थिए। उनले आयोगको सिफारिस उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका थिए।
उनको दाबीमाथि मंगलबार प्रधानन्यायाधीश शर्माको इजलासमा सुनुवाइ भएको थियो। उक्त इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। संसद् भवनमा भएको आगजनी लगायतका विध्वंसात्मक घटना र नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकाल्न भूमिका खेलेको भन्दै आयोगको प्रतिवेदनमा डेढ दर्जन बढी रास्वपा सांसदहरूमाथि छानबिन गर्न सिफारिस भएको छ। सभापति लामिछानेमाथि त जघन्यमै अनुसन्धान गर्न सिफारिस भएको छ।
जेठ १९, २०८३ मंगलबार १९:१६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।