रोल नं. १ : खै के, खै के !
'किताबी ज्ञान मात्र ठूलो होइन, बच्चाको इच्छा र आन्तरिक क्षमतालाई बुझ्न जरुरी छ' भन्ने सन्देश बोकेको नेपाली कथानक चलचित्र 'रोल नं. १' को विस्तृत समीक्षा यहाँ प्रस्तुत गरिएको छ:
आफ्नो अधुरो सपना सन्तानबाट पुरा गर्न चाहने अभिभावकको सामान्य स्वभावै हो। आफूले जे गर्न सकिएन त्यो सन्तानले गरिदिउन् भन्ने इच्छा हुन्छ नै। त्यसमा आफ्नो सन्तानको इच्छा होस् या नहोस् अभिभावकले दबाब बढाइरहन्छन्। जब दबाब बढ्छ त्यसको नतिजा सकारात्मक आउने कुरै भएन।
यस्तै सरल कथामा बनेको फिल्म हो रोल नम्बर-१ जुन शुक्रवारबाट हलमा लागिरहेको छ। फिल्मको केन्द्रमा छन् सञ्चार परियार (मुकुन भुसाल)। २ घण्टा ३२ मिनेट लामो फिल्ममा छोराछोरीको चाहना के छ, उनीहरू केमा रुचि राख्छन् भन्ने कुरा नबुझ्दा अभिभावक र सन्तानबीच कस्ता समस्याहरू आउँछन् भन्ने पक्षलाई देखाउने प्रयास गरिएको छ।
कथासार
म्याग्दी जिल्लाको एक पहाडी र विकट गाउँमा सञ्चार परियारको परिवार बस्छ। उनको जागिर भनेको गाउँमा कटुवाल (दमाहा बजाएर हरेक कार्यक्रमको सूचना दिने) को काम गर्नु हो। उनको जेठो छोरा ज्ञाने (निर्भीक रेग्मी) र कान्छी श्रीमती सरस्वती (रेनुनाथ योगी) छन्। सौतेनी छोरो भए तापनि सरस्वतीले ज्ञानेलाई आफ्नै सन्तान झैँ हुर्काइरहेकी हुन्छिन्।
एकदिन सरस्वती सुत्केरी व्यथाले छटपटिन्छिन्। सोही समयमा गाउँका वडाध्यक्षले गाउँमा नेता आउन लागेको खबर गर्न सञ्चारलाई दबाब दिन्छन्, नगरे जागिर खाइदिने धम्की दिन्छन्। एकातिर श्रीमती व्यथाले च्यापिएकी छिन्, अर्कोतिर जागिरको धम्की। सञ्चार दोधारमा पर्छन्। उनी गाउँलेलाई खबर गर्न डाँडामा जान्छन्, तर घर फर्कँदा नवजात शिशुको मृत्यु भइसकेको हुन्छ। यस घटनापछि श्रीमतीले सञ्चारलाई घृणा गर्न थाल्छिन् र उनी रक्सी पिउन थाल्छिन्।
तर, सञ्चारले आफ्नो छोरा ज्ञानेलाई कैलाश निमावि स्कुलमा भर्ना गरिदिएका हुन्छन्। छोरा जसरी पनि स्कुलमा फर्स्ट हुनै पर्छ भन्ने उनको जिद्दी हुन्छ। उनी छोरालाई घोकाएर, शिक्षकले पढाएको आफैँ सुनेर, घरमा छोरालाई सुनाएर जसरी पनि अब्बल बनाउने प्रयास गर्छन्। उनी परीक्षाको प्रश्नपत्र चोरेर भए पनि छोरालाई फर्स्ट बनाउन चाहन्छन्।
तर छोरा ज्ञानेको चाहना भने बेगम बाजे (सुवास गजुरेल) को काठ फर्निचरमा बसेर काम गर्ने, कुर्सी-झ्याल बनाउने हुन्छ। तर गाउँलेले बेगम बाजेलाई 'काम नलाग्ने, अनपढ' को संज्ञा दिएका हुन्छन्। ज्ञाने स्कुल जानुको साटो बेगम बाजेकोमा गएर काठ चिल्याउन र रन्दा लगाउन रमाउँछ।
गाउँमा ब्ल्याक एन्ड व्हाइट टिभीमा राजेश हमालको फिल्म 'शंकर' देखाइएपछि ज्ञानेको मन राजेश हमाल बन्नेतर्फ मोडिन्छ, तर पढाइमा उसको 'रोल नं. १' बन्ने छाँटकाँट हुँदैन। अन्ततः ज्ञाने स्कुलमा फर्स्ट हुन्छ कि हुँदैन? कान्छी श्रीमती र सञ्चारको सम्बन्ध सुध्रिन्छ कि सुध्रिन्न? र ज्ञानेको वास्तविक क्षमताको मापन कसले गर्छ? फिल्मको मुख्य पक्ष यीनै हुन्।
सबल पक्ष
गह्रुँगो कथाको साटो फिल्ममा सन्तानमा आफ्नो रहर थोपर्ने अभिभावक र त्यसको दबाबले बालबालिकामा पर्ने मानसिक प्रभावलाई केन्द्रमा राखेर सरल रेखीय कथामा फिल्म बनाउने प्रयास गर्नु यसको सबैभन्दा बलियो पक्ष हो।
कथालाई दृश्य भाषामा जसरी प्रस्तुत गर्ने प्रयास गरिएको छ त्यो सकारात्मक देखिन्छ। चोटिलो र गहकिलो संवाद यसको अर्को बलियो पक्ष हो।
कलाकारहरूको अभिनय पात्र सुहाउँदो छ। सञ्चारको भूमिकामा मुकुन भुसालले उत्कृष्ट काम गरेका छन्। पर्दामा मुकुन होइन, एउटा बाध्य बुबा सञ्चार देखिन्छ। बाल कलाकार निर्भीक रेग्मीले ज्ञानेको पात्रलाई जीवन्त बनाउने प्रयास गरेका छन्।
निर्देशक जोन योन्जनले पात्र अनुसारका कलाकार चयन गरेका छन्। रेनुनाथ योगी, सुवास गजुरेल, लोकेन्द्र लेखक, शंकर आचार्य, देशभक्त खनाल लगायतको अभिनयले दर्शकलाई बाँध्ने प्रयास गरेको छ।
केही दृश्य बलिया छन्। जस्तो ज्ञानेलाई बुबाले किताब घोकाउन खोजे पनि गाउँमा आएका पाहुना (माननीय) बस्ने कुर्सी भाँचिदा, गाउँलेले 'काम नलाग्ने' भनेका बेगम बाजेबाट सिकेको सीप प्रयोग गरेर ज्ञानेले नै त्यो कुर्सी मर्मत गरिदिन्छ। फिल्मको ब्याकग्राउन्ड म्युजिक सुहाएकै अनुभव हुन्छ।
कमजोर पक्ष
सरल कथा हुनु भनेको द्धन्द्धहिन हुनु पक्कै हैन। जसरी जीवन एकै गतिमा अगाडि बढ्न सक्दैन फिल्मको कथा पनि उस्तै त हो। जीवन जीवन्त बन्न उतारचढाव अनिवार्य भए जस्तै फिल्म जीवन्त हुन पनि द्वन्द्व अनिवार्य हुन्छ।
फिल्ममा चिटै चोराएर पनि छोरालाई पहिलो बनाउन चाहने बाबु र पढाई भन्दा अन्तै मन डुलाउने छोराबीचको कथामा निर्देशकले द्वन्द्वको निर्माण गर्ने प्रयास गरेका छन्। तर पर्दामा त्यो त्यति बलियोसँग अनुभव हुन्न।
बाल कलाकारको हकमा जुन उमेर र उनको चरित्रचित्रण गरिएको छ त्यसमा त्रुटि देखिन्छ। कथामा बाबुको इच्छा र छोराको चाहनाबीचको जुन द्वन्द्व निर्माण गर्ने प्रयास भएको छ त्यसमा सबैभन्दा ठूलो बाधक बालकको उमेर देखिन्छ।
यसमा कथा लेखन र चरित्र चित्रणमै कमजोरी देखिन्छ। पात्र र अवस्था जसरी निर्माण गरिएको छ त्यसले बाल कलाकारको उमेर अलि ठुलो खोज्छ। जब फिल्म हेर्न हलको कुर्सीमा बसेका दर्शकलाई पर्दाका पात्रसँग एकाकार गराउन सकिन्न फिल्मको ओरालो यात्रा त्यहीबाट सुरु हुन्छ। यसमा पनि यही समस्या देखिन्छ।
पात्र, अभिनय र कथामा समस्या नभए पनि त्यसलाई एकीकृत गरेर प्रस्तुत गर्नेक्रममा भने अलि छरिएको अनुभव हुन्छ। खालि खुट्टा हिँड्ने भनिएको पात्र सञ्चारको खुट्टामा बेलाबेलामा बुट (बुट जुत्ता) लगाएको देखिन्छ, जसको रहस्य निर्देशकले खुलाएका छैनन्। फिल्ममा राखिएको गीत 'म्याग्दी रुमालै' को कथासँग कुनै सन्दर्भ मिल्दैन।
परीक्षाको प्रश्नपत्र चोर्ने बेला गाउँलेलाई अल्झाउन मात्र यो गीत प्रयोग गरिएको जस्तो देखिन्छ, फिल्मको कथाको लयमा यसको खासै अर्थ छैन। अर्को गीत 'मन्दिर एउटा सधैँ मेरो लागि' भने कथा अनुसार ठिकै लाग्छ।
हिमाली भेग म्याग्दीको रमणीय ठाउँमा खिचिएको भए तापनि क्यामरामा त्यहाँको सुन्दरतालाई अझै राम्रोसँग कैद गर्न सक्ने ठाउँ थियो, जसमा अलि कमजोरी महसुस हुन्छ।
अन्त्यमा,
रोल नं. १ हुन किताबी ज्ञान मात्र होइन, बाहिरी र व्यावहारिक ज्ञान पनि चाहिन्छ भन्ने नै फिल्मको मुख्य सन्देश हो। बालबालिकाको इच्छै नबुझी केवल आफ्नो रहर लाद्ने अभिभावकको मनोविज्ञानलाई बुझेर यो कथा बुनिएको छ। केही पात्रको चरित्र निर्माण अनि प्रस्तुतिलाई एकीकृत गर्न नसक्दा फिल्मको सन्देश जति बलियो छ गुणस्तरीय त्यति बलियो भएको अनुभव भने हुन्न।
कथा, कलाकारको अभिनय, छायाङ्कनको गुणस्तर हेर्दा फिल्म बबाल जस्तो देखिन्छ। तर हेर्दै जाँदा कता के नमिलेको कता के खुस्किएको अनुभव हुन्छ।
जेठ १९, २०८३ मंगलबार १८:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।