भ्रष्टाचार मुद्दामा मधेसका निलम्बित सांसद सिंहलाई चार वर्ष कैद, साढे ३८ लाख जरिवाना
काठमाडौं : विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहलाई ४ वर्ष १ महिना कैद र बिगो बमोजिम साढे ३८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो।
महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुसबापत उक्त रकम लिएको खुलेको थियो। अदालतले सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको खण्ड (छ) बमोजिम कसुरको मात्रा अनुसार ४ वर्ष कैद र बिगो बमोजिम ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने ठहर गरेको छ।
साथै, सिंहले सार्वजनिक पद (प्रदेश सभा सदस्य)मा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेको हुनाले सोही ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय हुने फैसलामा उल्लेख छ। यसरी उनले कुल ४ वर्ष १ महिना कैद भुक्तान गर्नुपर्नेछ।
फैसलाअनुसार सिंहले गैर कानुनी रूपमा प्राप्त गरेको ३८ लाख ५० हजार १३९ रुपैयाँ बिगो जफत हुनेछ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर समेत अदालतले गरेको छ।
यसअघि जेठ ४ गते विशेष अदालतले सिंहलाई दोषी ठहर गरेको थियो भने मंगलबार सजाय निर्धारण गरेको हो। सिंह जनता समाजवादी पार्टीका नेता हुन्।
जेठ १९, २०८३ मंगलबार १८:५१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।