नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नता भारतद्वारा अस्वीकार, द्विपक्षीय संयन्त्रबाटै सुल्झाउनुपर्नेमा जोड
काठमाडौं : भारतले नेपाल र भारतबिचको सीमा विवादलाई द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवाद र त्यसमा तेस्रो पक्षको भूमिकाबारे दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो धारणा राखेका हुन्।
प्रधानमन्त्री शाहले संसद्मा सीमा विवाद सुल्झाउन बेलायतसँग पनि कुरा गर्नुपर्ने हुनसक्ने आशयको अभिव्यक्ति दिएका थिए। सोही विषयमा प्रवक्ता जयसवालले भने, “नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो। यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ।”
दुई देशबिचको सीमाङ्कन कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको भन्दै उनले बाँकी रहेका केही क्षेत्रमा प्राविधिक कारणले समस्या देखिएको बताए। उनले भने, “भारत-नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै समाधान हुन बाँकी छन्। गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण यस्तो अवस्था उत्पन्न भएको हो।”
सीमाङ्कन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको प्रवक्ताले उल्लेख गरे। उनले सीमासम्बन्धी सबै प्राविधिक र कूटनीतिक विषयलाई सम्बोधन गर्नका लागि दुई देशबिच प्रभावकारी द्विपक्षीय संयन्त्र क्रियाशील रहेको बताए।
जेठ १९, २०८३ मंगलबार १८:२०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।