उजुरी परेपछि विवादित क्षेत्रमा रोकियो रास्वपाको अधिवेशन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले बागमती र मधेस प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा भइरहेका निर्वाचनका प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
आयोगले मंगलबार एक निर्देशनात्मक परिपत्र पठाएर विवाद र उजुरी परेका क्षेत्रमा छानबिनका लागि निर्वाचन प्रक्रिया रोक्ने भनेको हो।
आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार जेठ १७ गतेसम्म सम्पन्न भएका प्रक्रिया बाहेकका अन्य विवादित क्षेत्रहरूमा अर्को निर्देशन नभएसम्म अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू रोक्न सम्बन्धित प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको छ।
कुन-कुन क्षेत्र प्रभावित ?
आयोगका अनुसार बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाअन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका र जिल्लाका अन्य विवादित वडाहरूमा प्रक्रिया रोकिएको छ।
त्यसैगरी, मधेस प्रदेशका सप्तरी र सिराहा जिल्लाका सम्पूर्ण विवादित स्थानीय तह तथा वडाहरू, महोत्तरीको जलेश्वर, एकडारा, मतिहानी, मनरा शिसवा र पिपरा गाउँपालिकामा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी, गणेशमान चारनाथ नगरपालिका र सर्लाहीको हरिपूर्वा नगरपालिकामा पनि निर्वाचनका गतिविधि अघि नबढाउन भनिएको छ।
केन्द्रीय निर्वाचन आयोगले निर्देशन विपरीत प्रक्रिया अगाडि बढाइए त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी दिएको छ। निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउन यस्तो कदम चालिएको भनिएको छ।
जेठ १९, २०८३ मंगलबार १६:४३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।