नेताको बचाउ गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेका छन् : ओली
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याए राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय दाबीमा गम्भीर असर पार्न सक्ने जोखिम रहने बताइन्।
प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री व्यक्तिगत नभई संस्था भएकोले संवेदनशील विषयमा सावधानी र कूटनीतिक परिपक्वता अनिवार्य हुने बताइन्।
उनले भनिन्, "प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन्। र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन।"
उनले अगाडि थपिन्, "अन्तर्राष्ट्रिय कानुनको स्टोपेलसिद्धान्त अनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरू पछि अस्वीकार गर्न कठिन हुन्छन्। जसले राष्ट्रिय दाबी कमजोर पार्न सक्छ।"
ओलीले आफ्ना नेताको बचाउ गर्ने नाममा राष्ट्रिय हितलाई गौण मान्ने प्रवृत्तिप्रति आपत्ति जनाइन्। उनले भनिन्, "आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो, त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेका छन्। आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन।"
उनले व्यक्ति पूजाको नाममा देशको पक्ष छाड्नु खतरनाक हुने टिप्पणी समेत गरिन्। प्रधानमन्त्रीका अभिव्यक्तिहरू विश्वव्यापी सञ्चारमाध्यममा पुगिसकेकाले त्यसलाई केवल प्राविधिक रूपमा सच्याएर मात्र पर्याप्त नहुने उनको तर्क थियो।
ओलीले सबै दलका शीर्ष नेताहरूलाई डाकेर यस विषयमा राष्ट्रिय गरिमाका साथ छलफल गर्न माग गरिन्। उनले भनिन्, "हामी यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौं र प्रधानमन्त्रीलाई पनि यो आफ्नो अभिव्यक्ति सच्याउनको लागि र उहाँले यसमा स्पष्टीकरण दिनको लागि हामी अनुरोध गर्न चाहन्छौं।"
जेठ १९, २०८३ मंगलबार १५:५८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।