प्रधानमन्त्री बालेनको अभिव्यक्ति र सदनमा हाजिरीलाई लिएर हर्कको प्रश्न
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संसद् बैठकमा प्रश्नोत्तरको क्रममा दिएको अभिव्यक्ति सच्याउनुपर्ने र सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रियता र सिमानाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले देशको सार्वभौमसत्ता र अखण्डतामा संशय पैदा गरेको बताए।
उनले भने, "प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो १७ गते राख्नुभएको अभिव्यक्ति छ, त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ। प्रधानमन्त्री यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु।"
उनले अगाडि थपे, "नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ, त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। यदि उहाँले आवेगमा आएर अथवा बिना पुष्टिको, बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, ३ करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ।"
साम्पाङले प्रधानमन्त्रीको सदनमा उपस्थितिको वैधानिकतामाथि समेत प्रश्न उठाए। उनले भने, "प्रत्येक सदस्यले बैठकमा आउनुपर्नेछ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्नेछ भन्ने छ।"
प्रधानमन्त्रीले सदनमा नियमित हाजिरी गरे-नगरेको विवरण सार्वजनिक गर्न उनले अभिलेख शाखाको ध्यानाकर्षण गराए। उनले अगाडि भने, "यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ। र यदि उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा ७७ को १ को 'ग'ले निज प्रतिनिधि सभाको सदस्य नरहेमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ।"
साम्पाङले देशको सिमाना, अखण्डता र सार्वभौमसत्ता जोगाउने कुरामा सत्ता र प्रतिपक्ष नभनी सबै सांसदहरूको एउटै माग हुनुपर्ने धारणा राखे। प्रधानमन्त्री अहिलेसम्म सदनका बैठकहरूमा कति पटक उपस्थित भए र कति पटक हाजिर गरे भन्ने अभिलेख स्पष्ट पार्न समेत उनले माग गरे।
जेठ १९, २०८३ मंगलबार १५:४३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।