संसद् बैठकमा आज पनि विपक्षीको अवरोध
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण विपक्षी दलहरूले आज पनि संसद बैठक अवरोध गरेका छन्।
विपक्षी दलहरूले सीमा विवादबारे दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ रहेको भन्दै प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नुपर्ने र विवादित अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान अडान राखेका छन्।
दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको हो।
गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
उनले भनेका थिए, "तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।"
विपक्षीको लगातारको अवरोधका कारण संसद्को दैनिक कार्यसूची प्रभावित बनेको छ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
आजबाट नै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने तयारी छ।
जेठ १९, २०८३ मंगलबार १५:१७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।