प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठक दोस्रो दिन पनि अवरुद्ध
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भयो। विपक्षी दलहरूको निरन्तर अवरोधका कारण मंगलबारको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भयो।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आकस्मिक समयमा बोल्नका लागि चार जना सांसदहरूलाई समय दिए।
बैठकमा सांसद्हरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ रहेको भन्दै आफ्नो गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिनुपर्ने वा माफी माग्नुपर्ने अडान राख्दै बैठकमा उभिएर विरोध प्रदर्शन जारी राखेका थिए।
गत आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा विवाद कूटनीतिक माध्यमबाट हल गरिने बताएका थिए।
त्यसै क्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’
बजेट लगायतका महत्त्वपूर्ण कार्यसूची प्रभावित
विपक्षीको लगातारको अवरोधका कारण संसद्को दैनिक कार्यसूची प्रभावित बनेको छ। मंगलबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची थियो।
यसैगरी, आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु गर्ने मुख्य कार्यसूची थियो।
जसअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
सभाध्यक्ष दाहालले विपक्षी सांसदहरूलाई आ-आफ्नो स्थानमा बस्न र संसद् सुचारु गर्न आग्रह गरे पनि अवरोध कायमै रहेपछि बैठक स्थगितको घोषणा गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १२:१५ बजे बस्ने गरी तय गरिएको छ।
जेठ १९, २०८३ मंगलबार १४:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।