अमेरिकी डलरसहित चितवनमा एक चिकित्सक पक्राउ, क्रिप्टोकरेन्सी चलाएको खुलासा
चितवन : गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले चितवनबाट एक जना चिकित्सक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरिएको हो।
धनुषाको हंशपुर नगरपालिका-४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको छ।
भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के-कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए।
जेठ १९, २०८३ मंगलबार १४:१०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।