सशस्त्रको एआईजीमा पोखरेलको बढुवा, कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने समितिको म्याद थप

सशस्त्रको एआईजीमा पोखरेलको बढुवा, कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने समितिको म्याद थप

काठमाडौं : सरकारले अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद्ले संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद समेत थप गरेको छ।

प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्यावधिलाई ४५ दिनका लागि थप गरिएको छ।

यसैगरी, भूमि व्यवस्थासँग सम्बन्धित निर्णय गर्दै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ।

जसअनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ भने सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा. रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यसका अलावा संयुक्त ​​​​​​​राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप)सँग ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

जेठ १९, २०८३ मंगलबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।