ठमेलबाट १५ जना बंगलादेशी नागरिक पक्राउ

ठमेलबाट १५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं : काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शङ्कास्पद र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

विदेशी नागरिकहरू शङ्कास्पद रूपमा बसिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गत जेठ १५ गते काठमाडौं महानगरपालिका वडा नं. १६ पकनाजोलस्थित ‘होटल एस’बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले होटलको चौथो, पाँचौं र छैटौं तल्लाका कोठाहरूमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले होटलका कोठाहरू भाडामा लिएर विदेशी मोडल तथा युवतीहरूको तस्बिर प्रयोग गरी नक्कली फेसबुक अकाउन्ट बनाउने गरेका थिए।

ती अकाउन्टमार्फत बंगलादेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाउने, कुराकानी गर्ने र पछि विभिन्न बहानामा ब्ल्याकमेल गरी रकम माग गर्ने जस्ता अवैध गतिविधिमा उनीहरू संलग्न रहेको पाइएको छ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२ वर्षीय सफिउल इस्लाम र २२ वर्षीय अपोन चन्दा साहा लगायत १५ जना बंगलादेशी नागरिक रहेका छन्।

पक्राउ परेका विदेशी नागरिकहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ।

जेठ १९, २०८३ मंगलबार १२:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।