नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा, अनुसन्धान नहुँदा घटना अझै रहस्यमै

नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा, अनुसन्धान नहुँदा घटना अझै रहस्यमै

काठमाडौं : नेपाली इतिहासको सबैभन्दा पीडादायी घटनामध्येको एक नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ।

वि.सं. २०५८ जेठ १९ गते शुक्रबार साँझ नारायणहिटी राजदरबारभित्र भएको पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको सम्पूर्ण परिवार (वंश) को विनाश भएको थियो।

उक्त बीभत्स हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम शाह लगायत १० जनाको मृत्यु भएको थियो।

घटनालगत्तै गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै परिवारका सदस्यहरूमाथि गोली प्रहार गरी पछि आफैँलाई गोली हानेको प्रतिवेदन सार्वजनिक गरेको थियो। यद्यपि, आम नेपाली नागरिकले उक्त प्रतिवेदनलाई पूर्ण रूपमा विश्वास गर्न सकेका छैनन्।

कडा सुरक्षा घेराभित्र रहेको दरबारभित्र भएको यो हत्याकाण्ड साढे दुई दशक बितिसक्दा पनि अझै रहस्यकै गर्भमा छ। जेठ १९ को यो कहालीलाग्दो घटनाले आज पनि नेपाली समाजलाई उत्तिकै झस्काउने गर्छ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय
शालीन र उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएसँगै नेपालमा राजतन्त्रको अन्त्यको जग बसेको मानिन्छ। वीरेन्द्रको निधनपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह नयाँ राजा बने।

तर, राजा ज्ञानेन्द्रले शासनसत्ता प्रत्यक्ष रूपमा आफ्नो हातमा लिएपछि राजनीतिक दलहरू र आम नागरिक आन्दोलित बने। फलस्वरूप, वि.सं. २०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनमार्फत राजतन्त्रको अन्त्य भयो।

दरबार हत्याकाण्डको ठिक ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते नेपाललाई औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरियो। यसरी ज्ञानेन्द्र शाह नेपालको इतिहासमा अन्तिम राजा बन्न पुगे।

वर्तमान समयमा तिनै पूर्वराजा ज्ञानेन्द्र वा उनका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने माग गर्दै राजावादीहरूले सडक प्रदर्शनहरू गर्दै आएका छन्।

स्वतन्त्र अनुसन्धानको पर्खाइ
घटनापछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।

सोही समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर, त्यसयता यस घटनाको कुनै पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुन सकेको छैन।

विभिन्न समयमा यस हत्याकाण्डको पुनः छानबिन गरिनुपर्ने आवाज राजनीतिक वृत्तमा नउठेको होइन। विगतमा गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दा विमलेन्द्र निधिले पनि दरबार हत्याकाण्डको पुनः अनुसन्धानको प्रसङ्ग उठाएका थिए।

तर, राजनीतिक दलहरूबीचको असमझदारी र स्पष्ट इच्छाशक्तिको अभावका कारण यो विषय बहसमै सीमित रह्यो र ठोस कदम चालिएन।

समयक्रममा अनेकौँ आशङ्का, अनुमान र दाबीहरू गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड आज २५ वर्ष बितिसक्दा पनि नेपाली इतिहासको सबैभन्दा ठुलो र अनुत्तरित रहस्यका रूपमा यथावतै छ।

जेठ १९, २०८३ मंगलबार १०:१७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।