प्रधानमन्त्रीको विवादित अभिव्यक्तिका कारण संसदमा अवरोध कायमै, बजेटमाथिको छलफल अन्योलमा
काठमाडौं : सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु गर्ने मुख्य कार्यसूची तय गरिएको छ।
तर, प्रधानमन्त्रीको विवादित अभिव्यक्तिका कारण विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएकाले बैठक प्रभावित हुने देखिएको छ।
संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूची अनुसार, आजको बैठकको सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
त्यसपछि, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र सो प्रस्तावमाथि छलफल सुरु हुने कार्यसूची रहेको छ।
तर, गत आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिका कारण विपक्षी दलहरू आक्रोशित बनेका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हित विपरीत रहेको भन्दै संसद बैठक बस्न दिएका छैनन्। उनीहरूले प्रधानमन्त्रीले कि त जमिन मिचेको प्रमाण पेश गर्नुपर्ने, कि त संसदमा उपस्थित भएर माफी माग्नुपर्ने अडान राख्दै आएका छन्।
यस विवादको असर प्रतिनिधि सभामा मात्र नभई राष्ट्रिय सभामा पनि परेको छ। राष्ट्रिय सभा बैठकमा समेत सांसदहरूले यही विषयलाई उठाएर अवरोध सिर्जना गरिरहेका छन्।
राष्ट्रिय सभामा त सोमबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी समेत गरेका थिए।
बजेट जस्तो महत्त्वपूर्ण राष्ट्रिय विषयमा छलफल हुनुपर्ने समयमा राजनीतिक गतिरोधका कारण संसदको नियमित कार्यसूची अघि बढ्न कठिन भइरहेको छ।
जेठ १९, २०८३ मंगलबार ०९:१८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।