वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई विहान ६:१५ बजे नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
एसपी पाठकले उकेरासँग भने, ‘पक्राउ पुर्जी जारी भएपछि उहाँ एक दिन अदालतमा उपस्थित हुनुभएको थियो। त्यसपछि सम्पर्कविहीन रहँदै आउनुभएकाले विशेष अपरेशनमार्फत नियन्त्रणमा लिएका हौं।’
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते मेयर सिंहसहित तीन जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनलाई आजै अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गर्ने एसपी पाठकले बताए।
जेठ १९, २०८३ मंगलबार ०७:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।