पाँच दिने भ्रमणका लागि दिल्ली पुगे रास्वपा सभापति लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमणको क्रममा सोमबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारतमा पुगेका लामिछानेले त्यहाँ नीतिनसहित प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए। भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्रबहादुर थापासमेत लामिछानेको स्वागतका लागि विमानस्थल पुगेका थिए।
लामिछानेले भाजपाको मुख्यालयमा भाजपाका अध्यक्ष नितिनसँग भोलि (मंगलबार) भेटघाट गर्ने कार्यक्रम तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने जेठ २० गते भेट्ने कार्यक्रम छ। त्यस्तै उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट्ने कार्यक्रम छ।
गत २१ फागुनमा भएको आम निर्वाचनबाट झन्डै दुई तिहाइ बहुमतसहितको सरकार बनाएको दुई महिनापछि पार्टी सभापति लामिछानेको पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्। उनी जेठ २२ गते स्वदेश फर्कनेछन्।
जेठ १८, २०८३ सोमबार १९:२६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।