पूर्व सभामुख महरालाई एक लाख धरौटीमा छाड्न आदेश
काठमाडौं : विशेष अदालतले भेप (इलेक्ट्रोनिक चुरोट)मार्फत भएको सुन तस्करी र भन्सार छली प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले नेकपाका नेता महरालाई धरौटी छाड्न आदेश दिएको हो। एक लाख बराबरको बैंक जमानत बुझाए तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दियो।
८ हजार ४६० दशमलव ५१ ग्राम सुनको भन्सार छली गरी ७ करोड ७८ लाख रुपैयाँ बराबरको सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा महरासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त प्रकरणमा महरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र १७ बमोजिम कैद र बिगो बराबरको जरिवाना मागदाबी गरिएको थियो। अदालतमा बयान दिने क्रममा महराले सुन तस्करी र भेपका बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै कसुर इन्कार गरेका थिए।
तर, प्रतिवादी महरा र चिनियाँ नागरिक दाओजिन वाङ तथा अरुण पोखरेलबीच भएको फोन संवाद एवं अन्य प्रमाणहरूलाई मध्यनजर गर्दा हाललाई थुनामै राखिरहनु नपर्ने देखिएकाले धरौटीमा छोड्न आदेश दियो। यदि आदेशअनुसार महराले तोकिएको धरौटी वा बैंक जमानत बुझाउन नसकेमा उनलाई थुनुवा पूर्जी दिई कारागार चलान गर्न भनिएको छ।
जेठ १८, २०८३ सोमबार १८:४०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।