प्रतिनिधिसभामा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

प्रतिनिधिसभामा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

काठमाडौं :  प्रतिनिधिसभाको बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ। 

सभामुख डिपी अर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन गरिएको जानकारी दिए।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गरेको, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र भौतिक हानि–नोक्सानी तथा क्षति पुर्याउने कार्यसमेत गरेको सम्बन्धमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताए।

उनले भने, "प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम बैठक समाप्त भएपछि उक्त घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छ। आजै सो विषयमा मुचुल्का पनि तयार भइसकेको छ।"

सभामुख अर्यालका अनुसार घटनाबारे आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

समितिमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।

सभामुखले प्रतिवेदन प्राप्त भएपछि नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने पनि स्पष्ट पारे।

उनले भने, "प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने व्यहोरा जानकारी गराउँदछु।"

प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसद्‌मा विपक्षी दल र सत्तापक्षबीच तनाव सिर्जना भएको थियो। आइतबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेपछि मर्यादापालकहरूसँग धक्कामुक्की समेत भएको थियो।

प्रतिनिधिसभा बैठकमा नियमावली पारित गर्ने प्रक्रिया चलिरहँदा प्रतिपक्षले मस्यौदामाथि थप छलफलको माग गरे पनि सभामुख डोलप्रसाद (डीपी) अर्यालले त्यसलाई अस्वीकार गर्दै बहुमतको प्रक्रियाबाट संसद् अगाडि बढाएका थिए। सो क्रममा विशेष गरी एमाले सांसद महर र यादवले वेल घेरेर बसेका अन्य सांसदहरूको काँधमा चढेर सभामुखको आसनसम्म पुग्न खोज्ने र संसद्‌भित्रकै कुर्सी उठाएर प्रहार गर्न खोज्ने जस्ता गतिविधि गरेका थिए।

जेठ १८, २०८३ सोमबार १७:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।