झापा इनर्जी प्लान्टमा आगलागी, छ करोड बराबरको क्षति

झापा इनर्जी प्लान्टमा आगलागी, छ करोड बराबरको क्षति

झापा : शिवसताक्षी नगरपालिका-४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’मा आगलागी हुँदा करिब छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार दिउँसो २:१० बजेको समयमा प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन्। 

सो इनर्जी प्लान्ट शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको छ। प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए। 

आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब पाँच किलोमिटर पश्चिम-दक्षिणमा पर्दछ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १८, २०८३ सोमबार १७:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।