विपक्षी दलको अवरोधपछि मंगलबार बस्ने गरी संसद् बैठक स्थगित
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनी दिएको अभिव्यक्तिको विरोधमा सोमबार पराह्न सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, त्यसपछि दोस्रो पटक सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले आफ्नो ठाउँबाट उठेर विरोध प्रदर्शन जारी राखेपछि बैठक स्थगित भएको हो।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने र उक्त विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखेका छन्। आफ्ना मागहरू पूरा नभएसम्म संसद् बैठक चल्न नदिने विपक्षी दलहरूले चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै राजनीतिक वृत्तमा यसको तीव्र आलोचना भइरहेको छ।
जेठ १८, २०८३ सोमबार १७:१३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।