अर्थमन्त्री वाग्लेको अडान : 'विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि हट्दैन'

अर्थमन्त्री वाग्लेको अडान : 'विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि हट्दैन'

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार पछाडि नहट्ने स्पष्ट पारेका छन्। 

नेपाल आर्थिक पत्रकार सङ्घले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने विकल्प खोजिने तर कर लगाउने निर्णयबाट पछाडि नहट्ने अडान राखे।

वाग्लेले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रभावकारी हुने तथा उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाइएको बताए। 

उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताए। पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै वाग्लेले आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको पनि बताए। 

उनले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गरे। कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेको त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिए।  

जेठ १८, २०८३ सोमबार १६:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।