प्रतिपक्षीलाई सभामुखको चेतावनी : मसँग प्रतिस्पर्धा नगर्नू

प्रतिपक्षीलाई सभामुखको चेतावनी : मसँग प्रतिस्पर्धा नगर्नू

काठमाडौं : प्रतिपक्षी दलका सांसदहरूको विरोधका बाबजुद एकपक्षीय रूपमा आइतबारको प्रतिनिधिसभा बैठक सञ्चालन गरेका सभामुख डोलप्रसाद अर्यालले आफूसँग प्रतिस्पर्धा नगर्न चेतावनी दिएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राखेपछि सभा सञ्चालनको लागि आग्रह गर्दै उनले कानुन निर्माण, जनताको जनजीविका लगायतका विषय प्रतिस्पर्धा गर्न तर आफूसँग नगर्ने चेतावनी दिए।   

"प्रतिस्पर्धा नेपालको कानुन बनाउन गरौं। देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गरौं। प्रतिस्पर्धा सभामुखसँग होइन," उनले भने, "देशको सुशासन, भ्रष्टाचारसँग गरौं। प्रतिस्पर्धा केमा गर्ने ? त्यसमा ध्यान दिऔं।" 

सभामुख अर्यालले यदि प्रतिपक्षीले सभा सञ्चालन गर्न नसघाए प्रक्रिया अघि बढ्ने चेतावनी समेत दिए। "मैले हिजो पनि संवादको लागि बोलाएको थिए। समय दिनु भएन। आज पनि कार्यव्यवस्था समितिको बैठक बस्नको लागि सूचना गरेको थिए। समय दिनु भएन। सभामुखले गर्ने त्यही हो," उनले भने, "तर तपाईँहरूले जब नजरअन्दाज गर्नुहुन्छ, प्रक्रिया रोकिँदैन।"

संसद् अवरोध गर्दा कानुन निर्माणमा बाधा पर्ने भएकोले सभा सञ्चालनको लागि सहयोग गर्न आग्रह गरे। स्थापित पक्रिया अनुरूप सभा सञ्चालन भइरहेको उल्लेख गर्दै उनले आफूले प्रतिपक्षीलाई पेलेर अघि नबढेको दाबी गरे। 

प्रतिपक्षी सांसदहरूले सभामुखले पेलेर बैठक अघि बढाएको आरोप लगाएपछि सभामुख अर्यालले भने, "मेरो इच्छा र चाहना हुँदैन। पेलेर सदन चलाउने।" प्रतिपक्षी दलहरूले उठेर विरोध जारी राखेपछि १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ।

जेठ १८, २०८३ सोमबार १५:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।