प्रधानमन्त्रीले यति कमजोर उत्तर दिनुहोला भन्ने थाहा पाएको भए प्रश्न नै सोध्ने थिइनँ
काठमाडौं : श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रिय हित विपरीत दिएको प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति फिर्ता लिन रुलिङको माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिन र सदनमा माफी माग्न माग गरे।
प्रधानमन्त्रीले आफ्नो प्रश्नको जवाफमा तथ्यहीन र मिथ्या अभिव्यक्ति दिएको राईको आरोप छ। गलत नजिर स्थापित गरेको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट समेत हटाउन माग गरे।
उनले भने, "हाम्रा प्रधानमन्त्रीले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्छ भन्ने थाहा भएको भए मैले हिजो त्यो प्रश्न नै सोध्ने थिइनँ। आज मलाई आफैँलाई लज्जास्पद महसुस भइरहेको छ। त्यस कारण प्रधानमन्त्रीको अभिव्यक्ति केवल रेकर्डबाट हटाउने कुरा मात्र होइन, यसले इतिहासमा एउटा गलत नजिर स्थापित गरेको छ।"
राईले प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा नेपालको सीमा र भूभागसम्बन्धी दाबीमा समेत असर पार्न सक्ने तर्क गरे। उनले भने, "भोलि कुनै देशले ‘तिम्रै प्रधानमन्त्रीले नेपालले भूमि मिचेको भनेका छन्, अब हाम्रो भूमि फिर्ता देऊ’ भन्यो भने कुन भूमि दिने, सभामुख महोदय ?"
उनले अगाडि भने, "जसरी प्रधानमन्त्रीले राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिनुभएको छ, उहाँ यही सदनमा आएर माफी माग्नुपर्छ र आफ्नो शब्द फिर्ता लिनुपर्छ। हामी कसैको भूमि मिच्दैनौं र कसैलाई आफ्नो भूमि मिच्न पनि दिँदैनौं। यो कुनै पार्टी विशेषको विषय होइन, सम्माननीय सभामुखमार्फत रुलिङ गरियोस् र प्रधानमन्त्रीले आफ्नो शब्द फिर्ता लिएर यस्तो नजिर हटाउनुपर्छ।"
जेठ १८, २०८३ सोमबार १५:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।