प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सोमबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
आइतबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको’ बताएका थिए। सोही विषयलाई लिएर विपक्षी दलहरूले सोमबारको बैठकमा आपत्ति जनाएका हुन्।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त दाबी तथ्यहीन भएको आरोप लगाउँदै त्यसको प्रमाण सार्वजनिक गर्न माग गरेका छन्। प्रमाण पेस गर्न नसके उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनीहरूको अडान छ।
प्रतिपक्षी सांसदहरूले उक्त विषयमा सरकारको स्पष्ट जवाफ नआएसम्म सदनको कारबाही अघि बढ्न नदिने बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहलाई ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिको तथ्य र प्रमाण पेस गर्न चुनौती दिए। उनले संसद्को गरिमाको स्मरण गराउँदै चियापसलको गफ र संसद्मा बोलिने कुरा फरक हुने स्पष्ट पारे।
उनले भने, "प्रधानमन्त्रीले बोलेको सामान्य विषयवस्तु होइन। चिया पसलमा बोलेको कुरा पनि होइन, यो देशको प्रधानमन्त्रीले संसदमा राखेको विषयवस्तु हो। कि तथ्य र प्रमाण पेस गरिनुपर्छ होइन भने रेकर्डबाट प्रधानमन्त्रीले हिजो बोलेको कुरा हटाउनुपर्छ।"
त्यसपछि बैठकमा कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको भनाइ गलत भएको बताए। "प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय हित विपरीत छ," राईले भने।
नेपालले मिचेको भारतको भूमिबारे बताउनुपर्ने भन्दै राईले भने, "सार्वभौम संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ। फेरि यहीं संसदको रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ कहाँ भारतको सिमा मिचेको छ भनेर एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। हामीलाई हिसाब चाहिन्छ।"
जेठ १८, २०८३ सोमबार १५:०६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।