बैठक सुरु हुनासाथ विपक्षीको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

बैठक सुरु हुनासाथ विपक्षीको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल-भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्। सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै विपक्षी दलका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध सुरु गरेका हुन्।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरे।

विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले उनीहरूलाई बोल्ने समय दिए। सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहलाई ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिको तथ्य र प्रमाण पेस गर्न चुनौती दिए।

नेता शाहीले संसद्को गरिमाको स्मरण गराउँदै चियापसलको गफ र संसद्मा बोलिने कुरा फरक हुने स्पष्ट पारे।

उनले भने, "प्रधानमन्त्रीले बोलेको सामान्य विषयवस्तु होइन। चिया पसलमा बोलेको कुरा पनि होइन, यो देशको प्रधानमन्त्रीले संसदमा राखेको विषयवस्तु हो। कि तथ्य र प्रमाण पेस गरिनुपर्छ होइन भने रेकर्डबाट प्रधानमन्त्रीले हिजो बोलेको कुरा हटाउनुपर्छ।"

त्यसपछि बैठकमा कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको भनाइ गलत भएको बताए। "प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय हित विपरीत छ," राईले भने। 

नेपालले मिचेको भारतको भूमिबारे बताउनुपर्ने भन्दै राईले भने, "सार्वभौम संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ। फेरि यहीं संसदको रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ कहाँ भारतको सिमा मिचेको छ भनेर एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। हामीलाई हिसाब चाहिन्छ।"

राईले प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने र माफी नमाग्दासम्म संसद् नचलाउन आग्रह गरेका छन्। 

जेठ १८, २०८३ सोमबार १४:५०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।