संसद्‍मा नियमविपरीत मोबाइल प्रयोग, गीताकुमारीमाथि तत्काल एक्सन हुँदा दीपक साहमाथि कारबाही होला?

संसद्‍मा नियमविपरीत मोबाइल प्रयोग, गीताकुमारीमाथि तत्काल एक्सन हुँदा दीपक साहमाथि कारबाही होला?

काठमाडौं : प्रतिनिधि सभा नियमावली २०७९ ले बैठक कक्षभित्र मोबाइल फोनको प्रयोग, कुराकानी र रेकर्डिङ गर्न पूर्ण रूपमा निषेध गरेको छ। तर, संसद् बैठकमा मर्यादा कायम गराउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूबाट नियमावलीको उल्लंघन गरिरहेका छन्।

पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वश्रममन्त्री दीपक कुमार साह बैठक चलिरहेकै बेला भिडियो कलमा कुरा गरेपछि विवादमा तानिएका छन्। यसअघि जेठ १२ गतेको बैठकमा पनि कांग्रेस सांसदको फोटो प्रकरणले संसद् तातेको थियो।

बैठक कक्षबाटै श्रीमतीलाई रास्वपा सांसद साहको भिडियो कल
आइतबार प्रतिनिधि सभाको बैठकमा नियमावली पारित गर्ने विषयलाई लिएर तनाव र अवरोध भइरहँदा रास्वपा सांसद साहले बैठक कक्षबाटै श्रीमती जुनु श्रेष्ठलाई भिडियो कल गरेका थिए।

उहाँले श्रीमतीलाई संसद्मा भइरहेको अवरोध र होहल्ला भिडियो कलमार्फत प्रत्यक्ष रूपमा देखाएका थिए। श्रीमतीसँग कुराकानी भइरहेको र संसद्को दृश्य देखाइएको भिडियो प्रतिनिधि सभाको आधिकारिक प्रत्यक्ष प्रसारणमा समेत आएपछि उनी पुन: एकपटक विवादमा तानिएका हुन्।

श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गर्न लगाएर स्वार्थको द्वन्द्वका कारण श्रममन्त्री पदबाट बर्खास्तीमा परेका साह यो घटनासँगै पुन: विवादित बनेका छन्।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम २० को (ट) मा ‘बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने’ स्पष्ट व्यवस्था हुँदाहुँदै सांसद साहले खुला रूपमै भिडियो कल गरेका थिए।

जेठ १२ को बैठकमा कांग्रेस सांसदको फोटो खिच्ने प्रकरण
यसअघि जेठ १२ गतेको प्रतिनिधि सभा बैठकमा पनि मोबाइल प्रयोगकै विषयमा सत्ता र प्रतिपक्षबीच वादविवाद भएको थियो। बैठक चलिरहँदा नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले बैठक कक्षभित्रै फोटो खिचेको भन्दै मर्यादापालकले बाहिर निकालेर फोटो डिलिट गर्न लगाएका थिए।

सभामुखको स्पष्ट र सार्वजनिक आदेशबिना नै मर्यादापालकले सांसदलाई बाहिर निकालेको भन्दै नेपाली कांग्रेसले कडा आपत्ति जनाएको थियो। कांग्रेस सांसद निश्कल राईले नियमावलीविपरीत कार्य भएमा सभामुखले पहिले सचेत गराउने नियम हुँदाहुँदै मर्यादापालकले जथाभाबी बाहिर निकालेको भन्दै विरोध गरेका थिए।

त्यसबेला सभामुख डोलप्रसाद अर्यालले सांसद सेन्दाङलाई बाहिर ननिकालिएको भन्दै आफ्नो निर्देशनको बचाउ गरेका थिए। स‌ंसदीय मर्यादा विपरीत मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गरेपछि मर्यादापालकलाई फोटो वा भिडियो खिचिएको छ कि छैन भनेर जाँच गर्न निर्देशन दिएको भन्दै बाहिर ननिकालिएको दाबी गरेका थिए।

फोटो खिचेको आशंकामा प्रतिपक्षी कांग्रेस सांसद सेन्दाङलाई सभामुखकै निर्देशनमा मर्यादापालकले तत्कालै रोकेर मोबाइल जाँच गर्दा, अर्कातर्फ सत्ताधारी दल रास्वपाका सांसद दीपक कुमार साहले बैठक कक्षभित्रैबाट खुलेआम भिडियो कल गरी संसद्को प्रत्यक्ष दृश्य बाहिर देखाउँदा उनीमाथि कारबाही होला त?

जेठ १८, २०८३ सोमबार १४:४४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।