प्रधानमन्त्री बालेनको राजीनामा माग्दै राष्ट्रिय सभा बैठकमा सांसदहरूको अवरोध
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेका छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।
बैठक सुरु हुनासाथ आकस्मिक समयमा विभिन्न राजनीतिक दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै आफ्नो भनाइ राखेका थिए।
आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलित सांसदहरूलाई बस्न र संसद्को नियमित कार्यसूची अगाडि बढाउन पटक-पटक आग्रह गर्नुभयो। तर, अध्यक्ष दाहालको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले उभिएरै निरन्तर अवरोध र विरोध प्रदर्शन जारी राखे।
सो क्रममा सांसदहरूले बैठक हलभित्रै ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रिय स्वाभिमान जिन्दावाद’, ‘कूटनीतिक मर्यादा कायम गर’, ‘सीमाका जनताको स्वाभिमान रक्षा गर’ लगायतको नारा लगाएका थिए।
सांसदहरूको अवरोधका बेला बैठकमा उद्योग मन्त्री रामजी यादव र सामाजिक सुरक्षा मन्त्री सीता वादीको उपस्थिति रहेको थियो।
सांसदहरूको निरन्तरको नाराबाजी र अवरोधका कारण संसद् बैठक सुचारु गर्न सम्भव नभएपछि राष्ट्रिय सभाका अध्यक्ष दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका छन्।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनी दिएको कूटनीतिक मर्यादाविपरीतको अभिव्यक्तिका कारण संसद्मा तीव्र आक्रोश बढेको हो।
यो अभिव्यक्ति सार्वजनिक भएलगतै नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको घटना बाहिरिएपछि सांसदहरू थप आन्दोलित बनेका हुन्।
जेठ १८, २०८३ सोमबार १४:०६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।