प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको ठहर, माफी नमागेसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको निर्णय
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमाका सम्बन्धमा प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्।
सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री शाहको भनाइ ‘राष्ट्रघाती’ रहेको निष्कर्ष निकाल्दै संसद्मा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।
झण्डै एक घण्टासम्म चलेको उक्त बैठकले प्रधानमन्त्री शाहको भनाइ पूर्ण रूपमा गलत रहेको निर्क्योल गरेको हो।
बैठकले प्रधानमन्त्रीले आफ्नो राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्बाटै माफी माग्नुपर्ने र संसद्को आधिकारिक रेकर्डबाट समेत हटाउनुपर्ने माग राखेका छन्।
प्रधानमन्त्री शाहले संसद्मै आएर माफी माग्नुपर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। उनले भने, “सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो संसद्मा बोलेको कुरा राष्ट्रघाती हो भन्ने निष्कर्ष बैठकले निकालेको छ। प्रधानमन्त्रीको भनाइ गलत छ, उहाँले त्यो फिर्ता लिनुपर्छ र संसद्मा आएर माफी माग्नुपर्छ।”
प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीले संसद्मा माफी नमागेसम्म प्रतिपक्षी दलहरूले आजको संसद् बैठक अवरोध गर्ने र सदनको कारबाही अगाडि बढ्न नदिने बताए।
आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै राजनीतिक वृत्तमा यसको तीव्र आलोचना भइरहेको छ।
जेठ १८, २०८३ सोमबार १४:०२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।