प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा तीव्र आक्रोश, २४ घण्टाभित्र प्रमाण दिन वा माफी माग्न माग
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रहित विपरीत र लज्जास्पद भएको भन्दै २४ घण्टाभित्र प्रमाण पेस गर्न वा सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
२४ घण्टाभित्र प्रमाण सार्वजनिक गर्न वा माफी माग्न नेपाली कांग्रेसको माग
बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले नेपाल सरकारले छिमेकी मुलुक भारतको कुन-कुन ठाउँमा जग्गा मिचेको छ, त्यसको तथ्य २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरे।
‘यदि सरकारले सो तथ्य उपलब्ध गराउन सक्दैन भने प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ’, सांसद कर्णले भन्नुभयो।
उनले प्रधानमन्त्रीको यस अभिव्यक्तिबारे छानबिन गर्न राष्ट्रिय सभाले विशेष निर्णय गर्दै छानबिन समिति गठन गर्नुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिनुपर्ने मागसमेत राख्नुभयो।
संसद्बाट भारतको वकालत गर्नु देशद्रोही काम : एमाले
नेकपा (एमाले) की सांसद राजेन्द्र लक्ष्मी गैरेले इतिहासमै पहिलो पटक नेपालको संसद्बाट भारतको वकालत गरिएको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्रीले कुन आधारमा यस्तो अभिव्यक्ति दिएको हो, सो स्पष्ट पार्न माग गर्दै गैरेले भने, ‘नेपालको संसद्बाट भारतको पक्षमा वकालत गर्नु देशद्रोही काम हो। यो कुनै राजनीतिक दल विशेषको विषय नभएर राष्ट्रियता र सिंगो देशको सवाल हो।’
उनले भारतले नेपालको २३ वटा जिल्लामा गरी करिब ६५ हजार हेक्टर जमिन अतिक्रमण गरेको तथ्य पनि संसद्मा प्रस्तुत गरे।
असावधानीवश बोलिएको होइन, यसको पछाडि गहिरो कारण छ : रामकुमारी झाँक्री
एमालेकी अर्की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिले स्वाभिमानी नेपाली र देशभक्त जनताको शिर निहुरिएको र लज्जाबोध भएको बताए।
नेपालको सीमा ६२ भन्दा बढी ठाउँमा मिचेको र सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) को ज्यादती कायमै रहेको ऐतिहासिक दस्तावेजहरू स्पष्ट हुँदाहुँदै प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार भनाइ राख्नु दुःखद भएको उनको भनाइ थियो।
सांसद झाँक्रीले रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाह अचानक विना सूचना ‘कन्सर्टमा आएजस्तै’ संसद्मा आएर जथाभाबी बोल्नु पूर्वयोजनाबद्ध खेल भएको आशंका गरिन्।
‘यो जिब्रो चिप्लिएको वा असावधानीवश बोलिएको होइन, यसको पछाडि गहिरो कारण छ र स्वाभिमानी नेपालीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ’, झाँक्रीले भनिन्।
उनले सुस्तामा आइतबार मात्रै निर्माणाधीन तटबन्धमा एसएसबीले अवरोध गरेको घटना र जंगेपिलर सारिँदा नेपालीहरू आफ्नै भूमिमा खेती गर्न बञ्चित भएको प्रसंग उठाउँदै प्रश्न गरिन्, ‘यस्तो बेला कसको हितका लागि प्रधानमन्त्री बोल्दै हुनुहुन्छ? के यस्तो प्रधानमन्त्रीले नेपालको राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्छ?’
७२ ठाउँमा सीमा विवाद हुँदा राष्ट्रघाती वक्तव्य दिइएको आरोप
यसैगरी, सांसद तुल प्रसाद विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’को संज्ञा दिँदै घोर खेद व्यक्त गरिन्।
सीमाविद् बुद्धिनारायण श्रेष्ठको प्रतिवेदन उद्धृत गर्दै विश्वकर्माले मेचीदेखि महाकालीसम्म ७२ ठाउँमा नेपाल र भारतबीच सीमा विवाद रहेको र कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा बारम्बार प्रश्न उठिरहेको स्मरण गराए।
उनले पनि नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको छ, त्यसको सबुत संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्रीसँग माग गरे।
जेठ १८, २०८३ सोमबार १३:५४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।