नेकपाले भन्यो- प्रधानमन्त्री बालेनको अभिव्यक्ति ‘राष्ट्रघाती’, संसद्को रेकर्डबाट हटाउन माग
काठमाडौं : प्रधानमन्त्रीले नेपाल-भारत सीमाका सम्बन्धमा प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विरोध जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई 'गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल' तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको ठहर गरेको छ।
विज्ञप्तिमा लेखिएको छ, "भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रुपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।"
विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल-बदल दुई भिन्न विषय भएको प्रष्ट पारिएको छ। सुगौली सन्धि र प्राचीन सीमा स्तम्भहरूका आधारमा निर्धारित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा रेखाका कारण सीमावर्ती नागरिकको खेतीयोग्य जमिन दुवैतर्फ पर्नुलाई 'कब्जा' भन्न नमिल्ने र यो केवल जग्गाको 'भोगचलन' को अवस्था मात्र भएको नेकपाले जनाएको छ।
भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको ऐतिहासिक अतिक्रमणको तथ्यलाई तोडमरोड गरी, नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात भएको पार्टीको भनाइ छ।
नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट हल हुनुपर्नेमा प्रष्ट रहेको बताउँदै नेकपाले हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा नगरेको तथ्यमा आफ्नो दाबी कायम राखेको छ। यही आधारमा लिम्पियाधुरा क्षेत्रमा नेपालले आफ्नो दाबी कायम राखी चुच्चे नक्सा जारी गरेको स्मरण समेत गराइएको छ।
नेकपाले प्रधानमन्त्रीको उक्त भनाइ तत्काल सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गरेको छ।
साथै, सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले हालसम्म सार्वजनिक नगरेको संवेदनशील परिस्थितिमा यस्ता अभिव्यक्तिले राष्ट्रियतामा गम्भीर चोट पुर्याउने भन्दै नेकपाले तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन राष्ट्रिय सहमति कायम गर्न समेत आग्रह गरेको छ।
जेठ १८, २०८३ सोमबार १३:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।