‘फर्किएपछि प्रेससँग कुरा गर्छु’ भन्दै दिल्ली उडे रवि

‘फर्किएपछि प्रेससँग कुरा गर्छु’ भन्दै दिल्ली उडे रवि

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि दिल्ली उडेका छन्।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा लामिछाने सोमबार दिउँसो १ बजेको विमानमार्फत त्यसतर्फ लागेका हुन्।

दिल्ली जाने क्रममा सभापति लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले प्रश्न सोध्न लाग्दा उनले फर्किएपछि कुरा गर्ने भन्दै पन्छिएका हुन्।

विमानस्थलको गेटमा छिर्नुअघि उनले सञ्चारकर्मीहरुसँग भने, ‘फर्किएपछि प्रेसका सबै साथीहरुसँग कुरा गर्छु नि है!’

आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएसँगै उनको भनाइमा विवाद भएको थियो।

वालेन्द्रको भनाइले उनको भारत भ्रमणमा भारतीय सञ्चारकर्मीको प्रश्नको कसरी सामना गर्छन् भनेर चर्चा भइरहँदा उनले नेपालका सञ्चारकर्मीको प्रश्न भने छलेका हुन्।

जेठ १८, २०८३ सोमबार १३:१२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।