महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना मृत फेला, एक जना सशस्त्र प्रहरी जवान

महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना मृत फेला, एक जना सशस्त्र प्रहरी जवान

डडेल्धुरा : गत शुक्रबारदेखि डडेल्धुराको परशुराम नगरपालिका–५ बाट बेपत्ता भएका दुई जना सोमबार मृत अवस्थामा फेला परेका छन्।

नाताले मामा-भान्जा पर्ने सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव महाकाली नदी किनारमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो।

मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो। सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन गरिएको थियो।

त्यसक्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

जेठ १८, २०८३ सोमबार १३:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।