संसद्मा देखिएको एमाले सांसद रिंगलाको ‘रौद्र रूप’
काठमाडौं : आइतबार बसेको प्रतिनिधि सभाको बैठक निकै तनावपूर्ण र असामान्य बन्यो।
प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिबाट सुरु भएको संसद्को अवरोध प्रतिनिधि सभा नियमावलीको मस्यौदा पारित गर्ने प्रक्रियासम्म पुग्दा हात हालाहालको स्थितिमा परिणत भयो।
बैठकको सुरुमै प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध गर्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच संसद्मै भिडन्तको स्थिति सिर्जना भएको थियो।
नियमावलीको मस्यौदामाथि छलफल सकिएर पारित गर्ने प्रक्रिया सुरू हुनासाथ अवस्था झन् उग्र बन्यो। प्रतिपक्षी सांसदहरूले वेल घेराउ मात्र गरेनन्, मर्यादापालकहरूसँग धक्कामुक्की समेत गरे।
प्रतिपक्षले मस्यौदामाथि थप छलफलको माग गरे पनि सभामुख डोलप्रसाद (डीपी) अर्यालले त्यसलाई अस्वीकार गर्दै बहुमतको प्रक्रियाबाट संसद् अगाडि बढाए। सो क्रममा सभामुख अर्याल मर्यादापालकहरूको सुरक्षा घेराभित्र रहेर संसद् बैठक सञ्चालन गर्न बाध्य भए।
चार सांसदको रौद्र रुप : काँध चढेर सभामुखको आसनतर्फ, कुर्सी प्रहारको प्रयास
आइतबारको बैठकमा मुख्य गरी सत्ताधारी दलका दुई र प्रतिपक्षी दलका दुई सांसदहरू निकै आक्रामक रूपमा प्रस्तुत भए।
सत्तापक्षका तर्फबाट सांसदद्वय आशिका तामाङ र अशोक चौधरी प्रतिपक्षी सांसदहरूमाथि जाइलागेका थिए भने प्रतिपक्षको तर्फबाट नेकपा (एमाले) का सांसदद्वय ऐनबहादुर महर र रिगला यादव निकै आक्रोशित देखिए।
विशेष गरी एमाले सांसद महर र यादवले वेल घेराउका क्रममा संसद्को मर्यादाविपरीत व्यवहार देखाए। उनीहरूले वेल घेरेर बसेका अन्य सांसदहरूको काँधमा चढेर सभामुखको आसनसम्म पुग्न खोज्ने र संसद्भित्रकै कुर्सी उठाएर प्रहार गर्न खोज्ने जस्ता गतिविधि गरे।
संसद्मा सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएकी सांसद यादवको उक्त व्यवहारले बैठकलाई थप तनावग्रस्त बनाएको थियो।
को हुन् एमाले सांसद रिगला यादव?
संसद्मा कुर्सी उठाएर प्रहार गर्न खोज्ने र अन्य सांसदको काँध चढेर सभामुखको आसनतर्फ दौडिन खोज्ने ४० वर्षीया रिगला यादव एमालेको समानुपातिक सूचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। नवलपरासीकी यादवलाई एमालेले मधेसी महिला क्लस्टरको एक नम्बर सूचीमा राखेर सांसद बनाएको हो।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी यादव २०६२ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य बनेकी थिइन्। २०७० सालको संविधान सभा निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नम्बर ६ बाट एमालेको उम्मेदवार बने पनि उनी पराजित भइन्।
त्यसपछि २०७९ को स्थानीय तह निर्वाचनमा पश्चिम नवलपरासीकै पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्षमा समेत उम्मेदवारी दिएकी उनी त्यहाँ पनि पराजित भइन्। संविधान सभा सदस्यको उम्मेदवार भइसकेकी व्यक्ति गाउँपालिका उपाध्यक्षमा उठेको भन्दै त्यतिबेला पार्टीभित्र उनको आलोचनासमेत भएको थियो।
स्पष्ट वक्ता र हक्की स्वभावकी नेतृ मानिने यादवले संसद्भित्र देखाएको यो उग्र व्यवहारलाई धेरैले आश्चर्य र आलोचनाको रूपमा हेरेका छन्।
जेठ १८, २०८३ सोमबार १२:५३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।