रास्वपा सांसदले नै भनिन्- नेपालले भारतको भूमि कहाँ-कहाँ मिचेको छ, तथ्य सार्वजनिक गरियोस्
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नेपालले भारतको भूमि कहाँ-कहाँ मिचेको छ, त्यसको तथ्य सार्वजनिक गर्न आग्रह गरेकी छन्।
प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति विवादमा परेपछि सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो माग गरेकी हुन्।
सांसद तामाङले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहलाई यस दाबीको तथ्य र प्रमाण सार्वजनिक गरिदिन हार्दिक अपिल गरेकी छन्।
सांसद तामाङले लेखेकी छन्, ‘प्रधानमन्त्री ज्यूले नेपालले भारतको भूमि कहाँ-कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैँभरि म लगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो। तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।’
आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको मौखिक जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको दाबी गरेका थिए।
प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै विपक्षी दल र विभिन्न राजनीतिक नेताहरूले यसको तीव्र विरोध गरिरहेका छन्।
यसै क्रममा, प्रधानमन्त्रीकै दल रास्वपाकी सांसद तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै तथ्यको माग गरेपछि यो विषयले थप राजनीतिक चर्चा पाएको छ।
सधैँभरि नेपालले मात्र सीमा अतिक्रमणको पीडा भोगेको तथ्य बुझ्दै आएका नेपालीका लागि प्रधानमन्त्रीको यो नयाँ दाबी आश्चर्यजनक रहेको भन्दै सांसद तामाङले सो दाबीलाई प्रमाणित गरेर देखाउन प्रधानमन्त्री शाहलाई चुनौतीसमेत दिएकी छन्।
जेठ १८, २०८३ सोमबार ११:३४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।