प्रधानमन्त्रीको विवादित अभिव्यक्तिकै भोलिपल्ट रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आज दिउँसो १ बजे भारत जाँदैछन्।
भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) र रास्वपा दुवैले यस भ्रमणको औपचारिक कार्यतालिका, उद्देश्य र प्रतिनिधिमण्डलको विवरण सार्वजनिक गरेका छन्।
तर, आफ्नै दलका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादबारे संसद्मा दिएको विवादास्पद अभिव्यक्तिका कारण यो भ्रमण राजनीतिक र कूटनीतिक वृत्तमा निकै चासो र बहसको विषय बनेको छ।
भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको विज्ञप्ति अनुसार भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने आज नयाँ दिल्ली पुग्नेछन्।
भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नवीन र पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने कार्यतालिका छ।
भाजपाका अनुसार यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच दलीय स्तरको सम्बन्ध सुरुवात गर्नुका साथै सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान गर्नु रहेको छ।
लामिछानेको यो स्तरको पहिलो भारत भ्रमण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा सरकारका अन्य वरिष्ठ मन्त्रीहरूसँग भेट हुने/नहुनेबारे भने दुवै पक्षले केही खुलाएका छैनन्।
यता, रास्वपाका तर्फबाट सांसद मनिष झाले जारी गरेको विज्ञप्तिमा भ्रमणका क्रममा उच्च तहका कूटनीतिक अधिकारीहरू र भाजपाको उच्च नेतृत्वसँग भेटघाट हुने उल्लेख छ। साथै, लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्नेछन्।
भ्रमण दलमा सभापति लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सांसद तथा विश्वासपात्र विपिन आचार्य, दीपक बोहोरा र प्रदीप आचार्य सहभागी हुँदैछन्।
भ्रमण दलगत मात्र भएको सरकारी दाबी
यो भ्रमण दलगत स्तरको भएको र यसलाई सरकारको औपचारिक भ्रमणसँग जोड्न नमिल्ने सरकारी पक्षले स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले केही दिनअघिको पत्रकार सम्मेलनमा भनेका थिए, ‘सभापतिज्यू आफ्नो ढंगले जानुभएको हो, यसको सरकारसँग कुनै सम्बन्ध छैन।’
यसअघि भारतले प्रधानमन्त्री बालेन शाहकै भारत भ्रमणको तयारी गरेको र भारतीय विदेश सचिव नेपाल आउने कार्यतालिका बने पनि नेपाली भूमि हुँदै भारतले कैलाश जाने सडक बनाएपछि नेपालको कूटनीतिक विरोधका कारण ती भ्रमणहरू रोकिएका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिको छायाँ पर्न सक्ने संशय
यस्तो संवेदनशील कूटनीतिक पृष्ठभूमिमा प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति तातिएको छ।
परराष्ट्र मन्त्रालयले उक्त भनाइ दशगजा क्षेत्रको अतिक्रमणका विषयमा मात्र केन्द्रित रहेको भनी प्रष्टीकरण दिए पनि यसको सीधा बाछिटा रवि लामिछानेको भारत भ्रमणमा पर्ने निश्चित देखिएको छ।
कूटनीतिक वृत्तका अनुसार लामिछानेले भारतमा सञ्चारकर्मीहरूबाट यस विषयमा चर्को प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ।
जेठ १८, २०८३ सोमबार १०:१६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।