काठमाडौं महानगरको कक्षा ११ र १२ छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

काठमाडौं महानगरको कक्षा ११ र १२ छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना उत्तीर्ण

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आइतबार सञ्चालित उक्त परीक्षामा न्यूनतम ४० अङ्क प्राप्त गरी १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा छात्रवृत्तिमा अध्ययन गर्नका लागि यो परीक्षा लिइएको हो।

छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम उत्तीर्ण अङ्क ४० प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा प्रकाशन गरिएको महानगरले जनाएको छ।

महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन्।

यस्तै, दोस्रो उच्चतम अङ्क ९१ प्राप्त गर्ने एक जना र तेस्रो स्थानमा ९० अङ्क प्राप्त गर्ने पाँच जना विद्यार्थी रहेका छन्।

परीक्षार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र आवेदन दिँदा प्राप्त भएको पासवर्ड (मोबाइल वा इमेलमा पठाइएको) राखेर नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रकासित नतिजामा चित्त नबुझेमा विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिन सक्नेछन्।

पुनर्योगका लागि एक हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेश पत्रको प्रतिलिपिसहित आगामी जेठ २० गते कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा निवेदन दिनुपर्ने महानगरले जनाएको छ।

शैक्षिक सत्र २०८३/०८४ का लागि गत जेठ ३ गते महानगरले छात्रवृत्तिको आवेदन आव्हान गर्दै सूचना प्रकाशन गरेको थियो। छात्रवृत्ति परीक्षाका लागि महानगरले ८३ वटा परीक्षा केन्द्रहरू तोकेको थियो।

अनलाइन प्रणालीमार्फत १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी कुल २६ हजार ८८८ जनाले आवेदन दिएका थिए।

तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो भने स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरको शिक्षा विभागले जनाएको छ।

जेठ १८, २०८३ सोमबार ०९:५७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।