राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडौं : संघीय संसद्का दुवै सदनबाट पारित भएका दुई महत्त्वपूर्ण विधेयकहरू राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।
गत आइतबार प्रतिनिधि सभाबाट अन्तिम रूपमा स्वीकृत भई प्रमाणीकरणका लागि पेश गरिएका ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका ती विधेयकहरूलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम २०८३ साल जेठ १७ गते आइतबारकै मितिमा प्रमाणीकरण गरेका हुन्।
यसअघि आइतबार साँझ बसेको प्रतिनिधि सभाको तेस्रो बैठकले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई बहुमतले स्वीकृत गरेको थियो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त भएको संशोधन प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त संशोधनमाथि विचार गर्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले त्यसलाई बहुमतले स्वीकृत गरेको थियो।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट विधेयकहरू पारित भएपछि सोही दिन राति नै प्रमाणीकरणका लागि शीतल निवास पठाइएको थियो। राष्ट्रपति पौडेलले तदारुकता देखाउँदै आइतबार राति नै ती विधेयकहरूलाई प्रमाणीकरण गरेका हुन्।
जेठ १८, २०८३ सोमबार ०९:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।