वालेन्द्रको अभिव्यक्तिमा आपत्ति जनाउँदै झलनाथले भने- ‘प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’

वालेन्द्रको अभिव्यक्तिमा आपत्ति जनाउँदै झलनाथले भने- ‘प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले संसद्‌मा ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनी दिएको अभिव्यक्ति गलत, दुःखद र राष्ट्रविरोधी भएको खनालको टिप्पणी छ।

पूर्वप्रधानमन्त्री खनालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई ‘खतरनाक’ संज्ञा दिएका छन्। उनले राष्ट्रियता जस्तो संवेदनशील विषयमा यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य नहुने दाबी समेत गरेका छन्।

खनालले लेखेका छन्, ‘हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतको जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिनुभयो। यो अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति हो। नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छन् र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ। यस्तो संवेदनशील कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो।’

उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा नेपालले भारतको भूमि मिचेको भनी दाबी गरेको हो भन्दै प्रश्नसमेत उठाएका छन्। प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि गहिरो चोट पुर्याएको खनालको भनाइ छ।

यस गम्भीर त्रुटिका लागि प्रधानमन्त्री शाहले अविलम्ब माफी माग्नुपर्ने खनालको माग छ।

‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन। साथै, यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरूलाई जोडदार आग्रह गर्दछु,’ खनालले अपिल गरेका छन्। साथै, उनले उक्त विवादित राष्ट्रघाती अभिव्यक्तिलाई संसद्को रेकर्डबाट तत्काल हटाउन सभामुख समक्ष आग्रहसमेत गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको मौखिक जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको दाबी गरेका थिए।

संसद्‌मा उनले भनेका थिए, ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर मात्रै थाहा पायौँ। त्यही भएर दुवै देशले अध्ययन गरेर, हामीले मिचेका छौँ वा उहाँहरूले मिच्नुभएको छ, के छ, त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ।’

सोही क्रममा प्रधानमन्त्री शाहले सीमा अतिक्रमणको विषयमा आफूले बेलायत (इङ्ल्यान्ड) सरकारसँग समेत कुराकानी गरेको जानकारी गराउनुभएको थियो। संसद्‌ जस्तो गरिमामय स्थलमा प्रधानमन्त्रीबाट व्यक्त भएको यो सीमा सम्बन्धी दाबी सार्वजनिक भएसँगै राजनीतिक वृत्त र सामाजिक सञ्जालमा यसको व्यापक विरोध र आलोचना भइरहेको छ।

जेठ १८, २०८३ सोमबार ०९:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।