प्रतिनिधि सभामा आजदेखि बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने
काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा नयाँ आर्थिक वर्षको बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु हुने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार ठकमा बजेटमाथिको छलफल प्रारम्भ गर्ने तयारी गरिएको हो।
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत १६औँ बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूची अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित “आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।
यस्तै अर्थमन्त्रीद्वारा प्रस्ताव प्रस्तुत भएपछि आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि प्रतिनिधि सभामा सामान्य छलफल प्रारम्भ हुनेछ।
यस छलफलका क्रममा सांसदहरूले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम र विनियोजित रकमका विषयमा आ-आफ्नो धारणा तथा सुझावहरू राख्नेछन्।
जेठ १८, २०८३ सोमबार ०८:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।