सभामुख डिपीको ढीपीले मुठभेडको थलो बन्यो संसद बैठक
काठमाडौं : प्रतिपक्षी दलका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन सरप्राइज सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह संसदमा पुगेपछि सुरु भएको विवाद छलफलबाट समाधान गर्नतिर भन्दा सभामुख डीपी अर्याल बलमिचाइतिर लागेपछि आइतबार रातीसम्म प्रतिनिधि सभामा धकेलाधकेल हुँदै कुर्सी हान्ने प्रयाससम्मका घटना भए। यी सबै विवादको मुख्य कारक संसदमा सहमति खोज्नुपर्ने सभामुख नै बने।
संसद् नियमावलीको प्रावधान मिचेर अकस्मात् प्रधानमन्त्रीसँग संसदमा सवालजवाफ चलाउँदा सभामुख अर्यालले नियमावलीमा रहेको प्रावधानै छैन भन्दै रुलिङ गर्दै प्रक्रिया अगाडि बढाएका थिए। प्रधानमन्त्रीले चाहे संसदमा बोल्ने समय पाउँछन्। तर सांसद र प्रधानमन्त्रीबीच हुने प्रश्नोत्तरबारे संसद् नियमावलीमा प्रस्ट प्रावधान छन्।
त्यसमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय तय भएपछि तीन दिन अगाडि नै प्रश्न सोध्न चाहने सांसदहरूले लिखित रूपमा आफ्नो प्रश्न पठाउँछन्। यसमा कुन सत्ता पक्ष अनि कुन प्रतिपक्षी भन्ने हुन्न। अधिकतम् एक पटकको प्रश्नोत्तर कार्यक्रममा १५ जनासम्म सांसदले प्रश्न सोध्न पाउँछन्। जब लिखित प्रश्न जान्छ सोही अनुसार संसदमा आएर प्रधानमन्त्रीले एक एक सांसदबाट प्रश्न लिन्छन् र जवाफ दिन्छन्। स्थापित संसदीय अभ्यास यही हो।
तर प्रधानमन्त्रीलाई मन लागेको बेलामा सवालजवाफ गर्न दिन सभामुख अर्यालले नियमावलीमा रहेको तीन दिन अगाडि प्रश्न सोध्नु पर्ने अनि बढीमा १५ जना सांसदले प्रधानमन्त्रीलाई चाहेको प्रश्न सोध्न पाउने प्रावधानै छैन भन्दै झुट बोले। यसमा प्रतिपक्षी दलका सांसदहरूले नियमापत्ति गरे अनि ध्यानाकर्षण गराए। तर उनले आफ्नो गल्ती स्विकार्नुको साटो उल्टो मर्यादाहीन गतिविधि गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूको नामै किटेर चेतावनी दिइरहे। तर त्यहीँ बैठकमा विपक्षी सांसदहरूसँग भिड्न गएकी सत्ताधारी रास्वपा सांसद आशिका तामाङको गैर संसदीय व्यवहार देखेनन्।
बल्ल बल्ल उनले आफ्नो गल्ती महसुस गरेर विपक्षी सांसदहरूले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको र प्रधानमन्त्रीले आकस्मिक समयमा बोल्न समय मागेकाले दिएको स्पष्टीकरण दिएर आकस्मिक हुँदै शून्य समय चलाएर नियमित कार्यसूचीमा प्रवेश गरे।
आइतबारको कार्यसूचीमा प्रतिनिधि सभाको नियमावलीको मस्यौदामाथिको छलफल थियो। मस्यौदामाथिको छलफलमा सत्तापक्ष अनि प्रतिपक्ष दुवैतर्फबाट सांसदहरूले भाग लिइरहेका थिए। दुवै पक्षले मस्यौदामाथि आ-आफ्ना धारणा र संशोधन प्रस्ताव राखिरहेका थिए। मस्यौदाका केही प्रावधान नेपालको संविधान २०७२ ले व्यवस्था गरेको विपरीत रहेको भन्दै प्रतिपक्षीहरूले ध्यानाकर्षण गराइरहेका थिए अनि संशोधन प्रस्ताव पनि राखेका थिए।
उनीहरूले यो मस्यौदामाथि थप छलफल गरेर मात्र पारित हुने या नहुने प्रक्रिया अगाडि बढाउन सभामुखको ध्यानाकर्षण गराइरहेका थिए। यस्तो अवस्थामा विपक्षीहरूको समेत विश्वास लिएर नियमावलीको मस्यौदा सौहार्दपूर्ण वातावरणमा पारित गर्ने प्रयास गर्ने र पटक पटक प्रयास गर्दा पनि सम्भव नभएको अवस्थामा बहुमत र अल्पमतको आधारमा स्वीकार र अस्वीकार गर्ने संसदीय विधि अपनाउनु पर्ने हो।
तर सभामुख डीपी अर्यालले आइतबार प्रतिपक्षी दलका सांसदहरूको अनुरोध बेवास्ता गर्दै सत्ताधारी दलसँग संसदमा रहेको बहुमतको आधारमा नियमावलीको मस्यौदा पारित गर्न भटाभट संशोधनहरू पेस गर्दै पक्ष र विपक्षमा मत विभाजन गर्न थालेपछि बिहानैदेखि सभामुखको व्यवहारबाट रिसाइरहेका विपक्षी दलका सांसदहरू थप आक्रोशित भए।
उनीहरू सभामुखको आसन अगाडि रोस्टम घेर्न पुगे अनि नाराबाजी गर्न थाले। तर सभामुखले न संवादको प्रयास गरे न त अवस्था सम्हालेर शान्त बनाउने नै प्रयास गरे। उनले विपक्षी सांसदहरूले राखेको प्रस्ताव भटाभट फ्लोरमा राखेर ध्वनि मतको आधारमा हुन्छ र हुन्न भन्दै स्वीकार र अस्वीकार गराउँदै अगाडि बढे।
सभामुखले निरन्तर पेलाहा व्यवहार गरेपछि विपक्षी दलका सांसदहरू आक्रोशित भएर सभामुखको आसनसम्म चढ्न प्रयास गरे। सभामुखलाई संसद्को मर्यादापालकहरुले घेरेर सुरक्षित राखे। संसद्को अवस्था अति उग्र भएपछि उनले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरे।
तर उनले संसद् बैठक स्थगित गरे पनि विपक्षी दलका सांसदहरूसँग सहमतिका लागि सकारात्मक प्रयास गरेको देखिएन। उनी सिधै सभाको आशनग्रहण गर्ने स्थानमा आएर सभा सञ्चालनको प्रयास गरेपछि पुन माहोल बिग्रियो। सत्तापक्षका सांसद अशोक चौधरी लगायतका सत्तापक्षका सांसदहरू विपक्षी सांसदहरूतर्फ उग्र भएर आक्रमणको प्रयासमा लागेपछि सत्तापक्षकै अन्य सांसदहरूले उनीहरूलाई सम्झाउनु परेको थियो। सत्तापक्षकै सांसदहरूले चौधरीको कोट तानेर उनलाई विपक्षी सांसदहरू भएको स्थानमा पुग्नबाट रोकिरहेका थिए।
चौधरीको व्यवहारपछि विपक्षी दलका सांसदहरू निष्कल राई लगायतका निकै रिसाएका थिए। यता संसदमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरू एक आपसमा भिड्ने माहोल बनिरहँदा उता कुर्सीमा बसेका सभामुख डीपी अर्यालले भने समन्वयको प्रयास नगरी मर्यादापालकहरुबाट घेरिएर पुन संसद् सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा पारित हुने प्रक्रिया अगाडि बढाए।
प्रतिपक्षी दलका सांसदहरू नाराबाजीमै सक्रिय भए। उनले विपक्षीहरूबाट आएका प्रस्तावहरू ध्वनीमतको आधारमा एकपछि अर्को अस्वीकार भइरहेको थियो। त्यहीबीचमा उनले मस्यौदा समितिमा संयोजक गणेश पराजुलीलाई नियमावली मस्यौदालाई निर्णयार्थ पेस गर्न रोस्टममा बोलाए। त्यसपछि एमाले सांसद ऐन महर रोस्टमसम्मै पुगेर अवरोध गर्न अन्य सांसदहरूको काँधमाथिबाट रोस्टमसम्म पुग्ने प्रयास गरेका थिए। तर त्यसलाई मर्यादापालकहरुले रोके।
विपक्षी सांसदहरू निरन्तर विरोधमा रहँदारहँदै संसदमा रमिता गराएर सभामुख डीपी अर्यालले संसद् नियमावली पारित भएको घोषणा गरेर सभा स्थगित गर्दै अर्को मिति तय गरेर हिँडे।
जेठ १८, २०८३ सोमबार ००:२०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।