रविको भारत भ्रमणबारे विजेपीको विज्ञप्ति, मोदीसँगको भेटबारे मौन, टोलीमा विश्वासपात्र मात्र सहभागी
काठमाडौं : भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक विवरण सार्वजनिक गरेको छ। विजेपीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले विज्ञप्ति मार्फत भाजपा अध्यक्ष नितिन नबिनको निमन्त्रणामा सोमबारबाट रवि भारतको भ्रमणमा आउन लागेको उल्लेख गरेका छन्।
विज्ञप्ति अनुसार भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नवीन र पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने उल्लेख गरिएको छ। अन्य वरिष्ठ नेताहरू को को हुन् भन्ने खुलाइएको छैन।
विज्ञप्तिमा भ्रमणको उद्देश्य रास्वपा र भाजपाबीच दलीयस्तरको सम्बन्ध सुरुवात गर्नुका साथै सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्नु रहेको उल्लेख छ।
लामिछानेको भारत भ्रमणकोक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका सरकारमा रहेका उच्चतहका मन्त्रीहरूसँग भेट हुन्छ या हुन्न खुलेको छैन। यो तहको भारत भ्रमणमा रवि पहिलो पटक जान लागेका हुन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रविको भ्रमणबारे विज्ञप्ति जारी गरेर भ्रमणकोक्रममा उच्चतहका कूटनीतिक अधिकारी र भारतीय जनता पार्टीका उच्चतहका नेतृत्वसँग भेट हुने उल्लेख गरेको छ। भ्रमणकोक्रममा भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेट हुने रास्वपाको विज्ञप्तिमा उल्लेख गरिएको छ। भ्रममा रविसँगै उनको श्रीमती निकिता, पार्टीका सांसद तथा रविका विश्वासपात्र विपिन आचार्य र दीपक बोहोरासँगै प्रदीप आचार्य संलग्न हुने मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जेठ १७, २०८३ आइतबार २२:४८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।