मर्यादापालकको सुरक्षा घेरामा बसेर सभामुख अर्यालले संसद्को नियमावली पारित गराए
काठमाडौं : संसदमा मर्यादापालकहरुको सुरक्षा घेरामा बसेर सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली पारित भएको घोषणा गरेका छन्। प्रतिपक्षी दलका सांसदहरूले नियमावलीबारे थप छलफलको माग गरे पनि त्यसलाई अस्वीकार गर्दै सभामुख अर्यालले नियमावलीको प्रक्रिया अगाडि बढाएका थिए।
प्रतिपक्षी दलका सांसदहरूको प्रतिरोधका कारण संसद् बैठक १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले सहमति ननिस्किएपछि पुन बैठक सुरु गरेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग रहेको बहुमतको आडमा संसद्को मर्यादापालकहरुको सुरक्षा घेरामा बसेर संशोधन प्रस्तावहरू एकपछि अर्को निर्णयार्थ पेस गरे।
सबै प्रस्ताव अस्वीकार भएपछि उनले मस्यौदा निर्णयार्थ संसदमा पेस गरे। मस्यौदाको पक्षमा रास्वपाका सांसदहरू रहेकाले सहजै पास भयो। सभामुखले सौहार्द वातावरण निर्माण गरेर पनि मस्यौदा पारित गर्न सक्थे। तर उनी सहमतिको साटो मर्यादापालकहरुको सुरक्षा घेरामै बस्न रुचाएर र पेलेरै मस्यौदाको प्रक्रिया अगाडि बढाएर पारित गराएर र संसद् बैठकको अर्को मिति तोकेर हिँडे।
मस्यौदाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरू रोस्टम अगाडि उभिएर नाराबाजी गरेका थिए। केही सांसदहरू सभामुखको आसन भएको स्थानमा जाने प्रयास गरेका थिए। गणेश पराजुलीले मस्यौदा निर्णयार्थ पेस गर्नेक्रममा एक सांसद उनी भएकै ठाउँमा पुग्ने प्रयास गर्दा मर्यादापालकहरुलाई रोक्न हम्मेहम्मे परेको थियो।
जेठ १७, २०८३ आइतबार २२:०८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।