सभामुखले पेलेर प्रतिनिधि सभा नियमावली पास गर्न खोजेपछि संसदमा लफडा, बैठक स्थगित

सभामुखले पेलेर प्रतिनिधि सभा नियमावली पास गर्न खोजेपछि संसदमा लफडा, बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको नयाँ नियमावलीबारे थप छलफल माग गरेका विपक्षीहरूको माग अस्वीकार गर्दै सभामुख डोलप्रसाद अर्यालले पारित गर्ने प्रक्रिया अघि बढाउन खोजेपछि संसदमा विवाद भएको छ।

विपक्षी दलका सांसदहरू रोस्टम अगाडि भेला भएर प्रक्रियाको विरोध गरिरहँदा सभामुख अर्यालले एकपक्षीय रूपमा प्रस्तावहरू स्वीकार र अस्वीकारको प्रक्रिया अगाडि बढाएका थिए।

पेलेर बैठक अगाडि बढाएपछि प्रतिपक्षी दलका सांसदहरू उग्र भएका थिए। संसद्को सुरक्षामा खटिएका मर्यादापालकहरुको सुरक्षा घेरामा बसेर सभामुख अर्यालले निरन्तर पेलेरै प्रस्तावहरू अगाडि बढाएपछि विपक्षी दलका सांसदहरू एकअर्काको काँधमाथि चढेर सभामुख बस्ने स्थानमा जाने प्रयास गरेका थिए।

यति गर्दा पनि सभामुखले बैठक रोकेनन्। उनी मर्यादापालकबाट घेरिएर निरन्तर बैठक चलाइरहेका थिए। विपक्षी दलका सांसदहरूको विरोधपछि सत्ताधारी दलका सांसदहरूले समेत प्रतिवादको तयारी गरेपछि रास्वपाकै केही सांसदहरूले उनीहरूलाई रोकेका थिए।

प्रतिपक्षी दलका सांसदहरू निरन्तर उग्र भएपछि अन्तमा सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेर बैठक कक्षबाट सुरक्षित रूपमा बाहिरिए।

जेठ १७, २०८३ आइतबार २०:४८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।