प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरूको आपत्ति: 'राष्ट्रिय स्वाभिमान र सीमा दाबी कमजोर बनाइयो'

प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरूको आपत्ति: 'राष्ट्रिय स्वाभिमान र सीमा दाबी कमजोर बनाइयो'

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन्।

प्रतिनिधि सभा बैठकपछि सिंहदरबारस्थित संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभिन्न राजनीतिक दलका सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइ दुःखद, खेदजनक र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरेका हुन्।

सांसदहरूले देशको कार्यकारी प्रमुखबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो सीमा दाबी नै कमजोर हुने चिन्ता व्यक्त गरेका छन्।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संसारकै इतिहासमा आफ्नै देशले अर्को देशको भूमि मिचेको दाबी गर्ने पहिलो राष्ट्रप्रमुख नेपालमा देखिएको भन्दै व्यङ्ग्य गरे। 

उनले भने, "संसारभरमा एउटा राष्ट्रप्रमुख यस्तो देखियो जसले हामीले अरुको सिमाना मिचेको छौँ भन्ने अभिव्यक्ति दिनुभयो। मिचेको हो कि होइन भन्नु कुरा सरकारसँग माग गर्छौँ। प्रधानमन्त्री बालेनले अरुको सिमाना हामीले मिचेको छौँ भन्नु दुःखदजनक छ, खेदजनक छ।’

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसीले भने सीमाजस्तो गम्भीर विषयमा हचुवाको भरमा बोल्न नहुने र नेपाल र भारतबीच खुला सीमा भएकाले प्राविधिक व्यवस्थापनका विषयहरू हुनसक्ने भए पनि नेपालले भूमि मिचेको तथ्य आफूले नबुझेको उल्लेख गरे।

उनले भने, "नेपालले भारतको सीमा मिचेको कुरा अध्ययन नगरी भन्न सकिँदैन। त्यस्तो तथ्य मैंले बुझेको छैन। धेरै ठाउँमा जोडिएको भू–भाग भएको देश भएकाले एकअर्काका सीमाहरू व्यवस्थित गर्नुपर्ने वा यताबाट उता र उताबाट यता मिलाउनुपर्ने विषय हुन सक्छन्। यसमा दुवै पक्ष बसेर गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ। प्रधानमन्त्रीले कुन सेन्समा कसरी भन्नुभयो भन्ने कुरा पनि बुझ्नुपर्छ।"

एमालेका सांसद गुरु बरालले कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता क्षेत्र नेपालको नक्सामा समेटिएर भूमि फिर्ताका लागि देश एकजुट भइरहेका बेला प्रधानमन्त्रीको यस्तो आत्मसमर्पणवादी भनाइ आउनु दुर्भाग्यपूर्ण रहेको बताए।

उनले भने, "नेपालले समेत भारतको भूमि मिचेको रहेछ। म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ। यसले हामी सबै नेपालको शीर झुकेको छ। र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद् छ। गम्भीर आपत्तिजनक छ।"’

जेठ १७, २०८३ आइतबार १८:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।