सभामुख डीपीले पहिला प्रतिपक्षी दलका सांसदको नामै लिएर तर्साउन खोजे, आफ्नै गल्ती खुलेपछि नरम भए

सभामुख डीपीले पहिला प्रतिपक्षी दलका सांसदको नामै लिएर तर्साउन खोजे, आफ्नै गल्ती खुलेपछि नरम भए

काठमाडौं : संसद् नियमावलीको प्रावधान विपरीत संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलाएपछि आक्रोशित भएका विपक्षी दलका सांसदहरूको नाम लिँदै तर्साउने प्रयास गरेका सभामुख डीपी अर्यालपछि आफैँ नरम बन्दै सदन चलाउन बाध्य भए।

आइतबारको संसद्को कार्यसूचीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारे उल्लेख थिएन। सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर यसबारे छलफल पनि गरेका थिएनन्। आइतबारको संसदमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी भएर आकस्मिक समयमा हात उठाएर सभामुखसँग समय मागेर रोस्टममा पुगेर संसदमा सांसदहरूले आफूसँग प्रश्नोत्तर गर्न चाहेको भन्दै प्रश्न सोध्न आग्रह गरे।

प्रधानमन्त्री शाहले एकाएक प्रश्न सोध्न आग्रह गरेपछि संसद् बैठक सुनसान भयो। प्रधानमन्त्री वा मन्त्रीहरूले आकस्मिक समयमा संसदमा बोल्न समय माग्दा समय दिने संसदीय प्रावधान रहेको छ। तर संसदीय नियमावलीमा रहेको महिनामा एक पटक प्रधानमन्त्रीसँग गरिने प्रश्नोत्तरको शैली र विधि भने भिन्न छ।

त्यसमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय तय भएपछि त्यसको तीन दिन अगाडि प्रश्न सोध्न चाहने सांसदले लिखित प्रश्न सोध्ने र यसको संख्या बढीमा १५ जना हुने उल्लेख छ। प्रधानमन्त्री संसदमा उपस्थित भएपछि प्रश्न सोध्न चाहने सांसदलाई सभामुखले समय दिने र सम्बन्धित सांसदले पहिल्यै लिखित रूपमा बुझाएको प्रश्न सोध्ने परम्परा रहेको छ।

अनि त्यसबारे उत्तर दिन सभामुखले समय दिएपछि प्रधानमन्त्रीले जवाफ दिने संसदीय परम्परा रहेको छ। तर आइतबार प्रधानमन्त्री शाह सिधै संसद्को रोष्टममा गएर ‘ल कसलाई के प्रश्न सोध्न मन लागेको हो सोध्नु’ भन्ने शैलीमा रोस्टममा गएका थिए।

करिब पाँच मिनेटको अलमलपछि सभामुख डिपी अर्यालले प्रश्नोत्तर कार्यक्रम अगाडि बढाउने प्रयास गरे। त्यसमा विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभा नियमावलीले तोके अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएको भन्दै नियमापत्ति सुरु गरे। तर सभामुख अर्यालले पेलेरै नियमावली अनुसारै भएको भन्दै दलगत रूपमा दुई मिनेटमा प्रधानमन्त्रीसँग प्रश्न सोध्न भनिरहे।

यसमा नेपाली कांग्रेस, एमाले लगायतका दलका सांसदहरूले नियमापत्ति गरे पनि सभामुख डिपी अर्यालले सुनेनन् नियमावली अनुसारै प्रश्नोत्तर भएको भन्दै पेलेर प्रक्रिया अगाडि बढाए। त्यही अनुसार दलगत प्रश्नोत्तर भयो। विपक्षी र सत्तापक्षसहित ६ जना सांसदहरूले प्रश्न सोधे। त्यसमा प्रधानमन्त्री शाहले केही प्रश्नको उत्तर दिएनन्। सीमा विवादबारे ‘नेपालले पनि भारतको सीमा मिचेको, लिम्पियाधुरा सीमा विवादबारे भारत र चीन मात्र नभई बेलायतसँग समेत कूटनीतिक संवाद अगाडि बढाएको’ जस्ता विवादित जवाफ दिए।

प्रश्नोत्तर सकिएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई आफ्नो आसनमा गएर बस्न भने तर प्रधानमन्त्री शाह खुरुखुरु संसद् भवनको बैठक कक्षबाट बाहिरिए। उनी हेरेको हेर्यै भए।

यता प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर संसद्को नियमावली अनुसार नभएको भन्दै बोल्न खोजे। उनीहरू उठेका थिए। सभामुख अर्यालले आफ्नो धारणा राख्ने प्रयास गर्दा एमाले सांसद ऐन महर उभिएर बोलिरहेका थिए।

त्यसपछि सभामुख अर्याल रिसाए। सभामुख बोलिरहँदा सांसदहरू बिचमा बोलेको भन्दै अर्यालले

पहिला एमाले सांसद ऐनबहादुर महरको नाम लिएरै सचेत गराए। उनले  पटक पटक सभामुख बोलेको बेलमा बस्न भनेको र पटक पटक मर्यादा विपरीत काम गरेकोमा ध्यानाकर्षण भएको भने।

उता श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आर्यन राई पनि उभिएर आफ्ना धारणा राखिरहेका थिए। त्यसपछि सभामुख अर्यालले ध्रुवराजको नाम लिएर “ध्रुवराज राईलाई पनि पटक पटक,” भने। त्यसपछि “आर्यन राईप्रति पनि मेरो ध्यानाकर्षण भएको छ” भने।

सभामुख अर्यालले सांसदहरूको नामै किटेर ध्यानाकर्षण भएको भन्न थालेपछि ध्रुवराज राईसहितले “गर्नोस् के गर्नुहुन्छ” भन्दै चुनौती दिइरहेका थिए।

त्यसपछि सभामुखले “समय दिइरहेको छु। माइक पनि दिइरहेको छु। आकस्मिक समय पनि दिएको छु। माननीय सदस्यले गरेको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ। आफ्नो भाषा सुधार्न ध्यानाकर्षण गराउँछु” भने।

उनले पुन श्रम संस्कृति पार्टीका सांसद आर्यन राइको ना लिएर “भाषा सुधार्न र मर्यादित गर्न ध्यानाकर्षण गराउँछु” भने।

उता एमाले सांसद ऐन महर निरन्तर नियमावली विपरीत सदन चलाएको भन्दै विरोध गरिरहेका थिए। त्यही बेलामा सत्तापक्षतिरबाट रास्वपा सांसद आशिका तामाङ विपक्षी सांसदहरूको रोहतिर गएर जाइलागिन्। उनी जङ्गिँदै विपक्षी सांसदहरू बस्ने रोहतिर जाँदा सभामुख अर्याल मौन बसे। उनले त्यसको वास्ता गरेनन् अनि व्यवहार सुधार्न ध्यानाकर्षण पनि गराएनन्। तामाङलाई रास्वपाकै सांसदहरूले बल्ल बल्ल सम्झाएर आफ्नो सिटमा ल्याएर राखेका थिए।

यता विपक्षीहरू विरोधमा उभिएकै थिए। त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका सदस्यहरूसँग सल्लाह गरे। केही समयको परामर्शपछि उनको भाषा नरम सुनियो। उनले नरम शैलीमा ‘सल्लाह गरेर बोल्न दिने कुरा सुरक्षित रहेको। प्रतिनिधि सभाको बैठक लाइभ भइरहेको र कसरी समय निर्धारण भइरहेको छ सबै छर्लङ्ग रहेको बताए।

“कार्यसूचीमा रहेको विषयवस्तु अगाडि नबढाएर विरोध मात्र गर्ने हो भने संविधान बनाएको १० वर्ष भयो तर कानुन बनेन भनेको सुनिरहेको छु। मर्यादित भएर प्रश्न सोध्ने र समय माग्ने अनि विषयवस्तुमा रहेर प्रश्न सोध्न अनुरोध गर्छु” उनले भने।

उनले नियमावली विपरीत प्रश्नोत्तर चलाएकोबारे प्रस्टीकरण दिँदै ‘प्रधानमन्त्री आएर समय मागेर सांसदहरूको जवाफ दिन तयार छु भनेको र सभामुखले नियमावलीमै टेकेर प्रधानमन्त्रीलाई प्रश्न गर्न समय दिएको तर्क गरे।

उनले सांसदहरूले सोधेको प्रश्नको उत्तर दिएर प्रधानमन्त्री निस्किएको भन्दै कार्यसूची अनुसार शून्य समय सुरु गर्न आग्रह गर। तर विपक्षी रोहमा रहेका सांसदहरू बसेनन्। त्यसपछि उनले माननीय सदस्यहरू बस्नुस् र सभा अगाडि बढाऊँ भन्दै गुरु बराललाई समय दिए।

बरालले प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ मा रहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्थाबारे जानकारी गराउँदै सभामुखले गरेको रुलिङ नियमावलीसँग मेल खाँदैन भन्दै ध्यानाकर्षण गराए।

त्यसपछि सभामुख अर्यालले श्रम संस्कृतिका आर्यन राईलाई समय दिए। तर पछाडि सोही दलका अर्का सांसद ध्रुवराज राईले समय मागिरहेका थिए। आर्यन बोल्न खोजे तर धुर्वले हात तल झारेनन्। त्यसपछि सभामुखले उनैलाई समय दिए।

उनले आन्दोलन गर्दागर्दै संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाइयो भन्दै सभामुख अर्याललाई बधाई दिए। अनि उनले पनि आगामी सदनहरू सञ्चालन गर्दा कम्तीमा नियमावलीभित्र बसेर गर्न आग्रह गर्दै २ तिहाइ मत देश बनाउन पाएको हो दम्भ देखाउन हैन भने।

त्यसपछि बल्ल एमाले सांसद ऐनबहादुर महरले पालो पाए। उनले संसदमा प्रधानमन्त्री उपस्थित भएकोमा धन्यवाद दिए। तर प्रधानमन्त्रीको अनुहार हेर्न मात्र माग नगरेको भन्दै प्रधानमन्त्री अकस्मात् आएर प्रश्नको उत्तर दिन तयार भएको तर त्यसमा पनि निश्चित मापदण्ड रहेको सम्झाए।

त्यसपछि उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारे प्रतिनिधि सभा नियमावलीमा रहेको तीन दिन अगाडि जानकारी दिनु पर्ने र प्रश्नहरू लिनु पर्ने, १५ जनासम्म प्रत्येक सांसदहरूले प्रश्न गर्न पाउनु पर्ने प्रावधान सुनाएर केवल ६ जना सांसदहरूको मात्र प्रश्न लिएको भन्दै आलोचना गरे।

“तीन दिन अगाडि प्रश्न लिने व्यवस्था छैन भनेर सभामुखज्यूले भन्नुभयो। त्यो शब्द संसद्को रेकर्डबाट हटाइयोस्” उनले भने।

त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसद् नियमावलीमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको प्रस्ट व्याख्या रहेको भन्दै सोही अनुसार पूर्व तयारी हुनु राम्रो रहेको सुझाव दिए। यदि सत्तापक्षले यो नचाहेको भए नियमावलीबाट हटाउन सकिने भन्दै तर नियमावलीमा राख्ने हो भने नियमसंगत रूपमा अगाडि बढाउन सुझाव दिए।

कांग्रेस सांसद वासना थापाले नेपालको सीमा भारतले मात्र नमिचेको, नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्रको अभियब्यक्तीको विरोध गर्दै उनले नेपालले भारतको सीमा कहाँनिर मिच्यो त्यो जानकारी दिनुपर्ने हैन भने प्रधानमन्त्रीको सो भनाई संसद्को रेकर्डबाट हटाउन माग गरिन्।

पालो आयो राप्रपा सांसद खुस्बु ओलीको। उनले पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको शैली अनि चीन विकसित देशको सूचीमा सूचीकृत हुन योग्य भए पनि लामो समय विकासोन्मुख देशको सूचीमा बसेको भन्दै नेपाल अल्पविकसितबाट विकासोन्मुख सूचीमा सूचिकृत हुनबाट रोक्न गरेको प्रधानमन्त्रीको बचाउ गलत भएको बताइन्।

त्यसपछि विपक्षीसँगै सत्तापक्षबाट आशिका तामाङ बोल्न उठिन्। सभामुखले के विषयमा बोल्न खोजेको सोधिरहे। त्यसपछि सांसदहरूले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीले आकस्मिक समयमा समय मागेकाले समय दिएको। र त्यसै अन्तर्गत समय दिएर छरितो बनाउन दलगत सांसदहरूलाई समय दिएको बताउँदै आकस्मिक समयमा प्रधानमन्त्रीले समय मागेकाले परामर्श समितिसँग छलफल गर्न नसकेको भन्दै आकस्मिक, सून्यहुँदै कार्यसूची अनुसार बैठक अगाडि बढाए।

जेठ १७, २०८३ आइतबार १८:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।