१० वर्षमुनिका बालबालिकामा पनि चुरोटको लत, नेपालमा वार्षिक ३९ हजारभन्दा बढीको मृत्यु

१० वर्षमुनिका बालबालिकामा पनि चुरोटको लत, नेपालमा वार्षिक ३९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं : नेपालका विद्यालय उमेरका बालबालिकामा समेत सुर्तीजन्य पदार्थको लत बस्दै गएको एक अध्ययनले देखाएको छ। 

'विश्व सुर्तीजन्य पदार्थरहित दिवस'का अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार १२ वर्षमुनिका र कतिपय अवस्थामा १० वर्षमुनिका बालबालिकाले समेत चुरोट सेवन गर्ने गरेको पाइएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अनुसन्धानकर्ता कुसुम शाहीका अनुसार सातवटै प्रदेशका ५० वटा विद्यालयका कक्षा ७ देखि १० सम्म पढ्ने ३ हजार बालबालिकामा यो अध्ययन गरिएको थियो। अध्ययनले सुर्तीजन्य पदार्थको भयावह चित्र देखाएको छ, जसमा ५७ प्रतिशत सेवनकर्ताले बिहान उठ्नेबित्तिकै चुरोट खाने गरेको र ७४ प्रतिशतले चुरोट छाड्न प्रयास गरे पनि असफल भइरहेको बताएका छन्।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेपजस्ता स्वादिलो र मिठास सुगन्ध आउने ‘फ्लेवर’ राखेर बिक्री गर्ने पाइएको बताए। उनले हाल किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढेकाले अभियान सञ्चालन गरेर रोक्नुपर्ने बताए। 

अतिरिक्त सचिव डा. श्रेष्ठले भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्नसमेत आग्रह गरे। उनले सुर्तीजन्य  पदार्थको रोकथाम र नियन्त्रणका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए। “मुलुकलाई सुर्तीमुक्त अभियान सञ्चालन गरेर मुटु, फोक्सो, मिर्गौला र क्यान्सरजस्ता रोगको उपचारमा लाग्ने खर्च जोगाउन सकिन्छ। यसमा सबैले ध्यान दिनुपर्छ”, श्रेष्ठले भने। 

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थ सामाजिक विष रहेकाले सबैको सहयोगबाट यसलाई रोक्न सकिने बताए। “सुर्तीजन्य पदार्थ एकप्रकारले सामाजिक विष नै हो। यसलाई सबै मिलेर समाजबाट हटाउनुपर्दछ”, उनले भने। 

निमित्त महानिर्देशक डा. भट्टचनले सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रण गर्न सरकार लागिपरेको र यसमा सबैको साथ आवश्यक रहेको धारणा राखे। 

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आफ्नो घरमा कोही सुर्तीजन्य पदार्थ सेवनकर्ता छ भने छोडाउन आग्रह गरे। “आफ्नो घरमा कसैले सुर्तीजन्य पदार्थ सेवन गर्दछन् भने पहिलो तिनीहरूलाई छोडाऔँ। विस्तारै सामाजका अन्य व्यक्तिलाई पनि यस कार्यमा नलाग्न सचेत गराऔँ”, उनले भने। 

स्वास्थ्य अभियन्ता शान्तराज मुल्मी, डा. जयकुमार गुरुङ, ज्योति बानियाँले युवालाई सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिए। 

‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम  चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ। 

नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। धूमपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेहजस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको चिकित्सकहरूले बताएका छन्।

जेठ १७, २०८३ आइतबार १७:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।