जिबी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्नमा प्रधानमन्त्री शाह मौन, सहकारीको रकम असुलीबारे मात्र दिए जवाफ
काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईको पक्राउबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री वालेन्द्र शाह मौन बसेका छन्।
सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले जिबी राईबारे सोधिएको प्रश्नको उत्तर नै दिएनन्।
संसदमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए।
"नेपालमा सहकारीको ठूलो घोटला भयो। ठूलै समस्या उत्पन्न भयो। थुप्रै आन्दोलन भयो। जिबी राईलगायतका थुप्रै सहकारी ठगी गर्नेहरु कहिले पक्राउ पर्छन्? विशेषतः जिबी राई कहिले पक्राउ पर्छन्," राईले सोधेका थिए।
तर, प्रधानमन्त्री शाहले जिबी राईको पक्राउ सम्बन्धी प्रश्नको कुनै उत्तर दिएनन्। उनले केवल सहकारीको बचत फिर्ता र सम्पत्ति असुली प्रक्रियाबारे मात्रै संसद्लाई जानकारी गराए।
जवाफका क्रममा प्रधानमन्त्री शाहले भने, "सहकारीको विषयमा कोष खडा गरेका छौं। बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन। गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो। ५०/६० लाखजस्तो दिइएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन। हामीले सहकारीबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो।"
जेठ १७, २०८३ आइतबार १५:५८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।