प्रधानमन्त्रीको प्रश्नोत्तरलाई लिएर संसदमा विवाद, सांसद आशिका तामाङलाई बैठक कक्षबाट बाहिर लगियो

प्रधानमन्त्रीको प्रश्नोत्तरलाई लिएर संसदमा विवाद, सांसद आशिका तामाङलाई बैठक कक्षबाट बाहिर लगियो

काठमाडौं : आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर सत्रलाई लिएर सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की परेको छ। संसदीय नियमावली विपरीत प्रश्नोत्तर गराइएको भन्दै प्रतिपक्षी सांसदहरूले विरोध गरेपछि सत्ता पक्षका सांसद पनि आक्रोशित बने।

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनलाई रास्वपाका सांसदहरूले समातेर बैठक कक्षबाहिर लगे। प्रधानमन्त्री वालेन्द्र शाह बैठकमा आकस्मिक रूपमा जवाफ दिन उपस्थित भएपछि प्रतिपक्षी सांसदहरूले प्रश्न उठाए।

उनीहरूले नियमावलीमा नै नभएको व्यवस्था प्रयोग गरेर प्रधानमन्त्रीलाई समय दिएको भनेर आपत्ति जनाए। प्रधानमन्त्रीको उपस्थिति सकारात्मक भए पनि प्रक्रिया नियमसंगत नभएको विपक्षीको तर्क थियो।

प्रधानमन्त्रीले जवाफ दिएर बाहिरिए लगत्तै एमालेका मुख्य सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई लगायतले बोल्नका लागि समय माग गर्दै नियमापत्ति जनाएका थिए। 

सभामुख डोल प्रसाद अर्यालले समय नदिएपछि सभामुख र सांसदहरूबीच केहीबेर सवाल जवाफ भएको थियो। सांसद तामाङ आफ्नो सिटबाट उठेर रोस्ट्रमतिर अघि बढेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। 

उनलाई नियन्त्रण गर्न रास्वपाकै सांसदहरू रञ्जु दर्शना, टीका संग्रौला र भूमिका श्रेष्ठले हात समातेर बैठक कक्षबाट बाहिर निकालेका थिए। बाहिर निकालिएपछि पनि सांसदहरूले उनलाई शान्त रहन र नियमावलीअनुसार बैठक चल्ने भन्दै सम्झाएका थिए।

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीले दिएको नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति तथ्यहीन भएको दाबी गर्दै त्यसमा स्पष्टीकरण समेत माग गरेका छन्। संसद्‌मा जारी अवरोध र होहल्लापछि सभामुख अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादामा बस्न निर्देशन दिएका थिए। 

उनले विपक्षी सांसदहरूको व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्। विवादका कारण केही समय बैठक प्रभावित बनेको थियो।

जेठ १७, २०८३ आइतबार १५:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।